खोपबाट बञ्चित नहुन् भन्नका लागि ‘घरघर जाऔं, खोज र खोप’ अभियान थालेकाछौं : जनस्वास्थ्य निरीक्षक जागेश्वर
नेपालगन्ज २९ फागुन : बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । यी ८ वटै पालिकामा सेवा, सुविधा र साक्षरताका हिसाबमा नेपालगन्ज उपमहानगरपालिका अग्र स्थानमा रहेकोछ । तर, स्वास्थ्य जस्तो गम्भीर सवालमा नेपालगन्ज नगरबासी असंवेदनशील र लापरबाह देखिएकाछन् ।
स्वास्थ्य जस्तो गम्भीर विषयमा नगरबासीको लापरबाही र असंवेदनशीलताको आरोप लाग्दै गर्दा संवद सरोकारवालाहरु पनि उत्तिकै गैरजिम्मेवार हुने गरेको पछिल्ला घटनाले पुष्टि गरिसकेकोछ ।
घटना–१
२०७७ चैत्र मसान्तमा बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको थियो । पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको दुई वर्ष वित्नै लाग्दा गत पुष १२ गते बाँकेका बालबालिकामा दादुरा प्रकोप पाइयो । जिल्लामै सबैभन्दा बढि नेपालगन्ज दादुराको प्रकोप रह्यो । दुखद् दादुराले एक जनाको मृत्यु हुन पुग्यो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो ।
घटना–२
हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने लक्ष्यलाई हेर्दा पनि बाँकेको ८ वटै पालिकामा सबैभन्दा कम कभरेज नेपालगन्जको छ । बाँकेमा ११ औं चरणसम्म दुई थरीका औषधि खुवाइएको थियो । यद्यपी औषधिको कभरेज मात्रा बढ्यो तर, अवस्था ज्यूँका त्यूँ रह्यो । यसमा पनि नेपालगन्ज उपमहानगरपालिका फेल भएको छ । गत वर्ष मात्रै बाँकेमै सबैभन्दा कम नेपालगन्जको ४९ प्रतिशत कभरेज दर रह्यो । यस वर्ष पनि औषधिको कभरेज लक्ष्य अनुसार पुग्न सकेन । अर्थात फागुनको अन्तिम सातासम्म नेपालगन्जको ४८ प्रतिशत मात्र कभरेज दर रह्यो । हाल बाँकेमा हात्तीपाईले रोग विरुद्धको औषधि खुवाउने अभियान आगामी चैत्र १५ गतेसम्मलाई थपिएकोछ ।
स्वास्थ्य सम्बन्धि यी घटनाले नेपालगन्ज उपमहानगरपालिका, स्वास्थ्य महाशाखा, सम्बद्ध सरोकारवाला र नगरबासीप्रति प्रश्न तेर्सिएकोछ । आखिर नेपालगन्जका बालबालिकाले खोप किन लगाउँदैनन् ? औषधि किन खाँदैनन् ? यो प्रश्नको उत्तर खोज्न नेपालगन्जमा घरदैलो सर्वेक्षण थालिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई घरघरमा पठाएर खोप लगाए÷नलगाएको बुझ्ने र खोप लगाएका छैनन् भने लगाउने र उनीहरुलाई यसअघि किन नलगाएको भनेर सोध्न पठाएको छ ।
नगरका २३ वटै वडामा यो अभियान शुरु हुँदैछ । केही वडामा शुरु भइसकेको छ । सरकारले निर्धारण गरेको लक्ष्य पूरा हुने तर, यहाँका रैथाने बालबालिका खोपमा छुटेको पाइएपछि यस्तो अभियान र सर्वेक्षण थालिएको नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।
उपमहानगरपालिकाले १६ देखि ५९ महिनाका बालबालिकाले खोप लगाएको/नलगाएको सर्वेक्षणसँगै खोप लगाउने अभियान थालेको हो । नेपालगन्जलाई गतवर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगन्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो ।
आगामी बैशाखमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपन घोषणा गरिदैँछ । जनस्वास्थ्य निरीक्षक बस्नेतले भने–‘यो नियमित अभियान हो । हरेक वर्ष हामीले पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गर्नैपर्छ । कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि ‘घरघर जाऔं, खोज र खोप’ अभियान थालेकाछौं ।’
उनले भने–‘यो अभियानमा कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण गरिन थालेको हो ।’ नेपालगन्ज उपमहानगरपालिकाले यो अवधिमा खोप लगाएको वा नलगाएको बुझ्न १६ देखि ५९ महिनाका बालबालिकाको सर्वेक्षण गर्दैछ ।
सोही अभियान अन्र्तगत यतिबेला नगरका विभिन्न वडामा अभिमुखीकरण भइरहेका छन् । नेपालगन्ज उपमहानगरपालिकाले फाराम नै दिएर घरघरमा पठाएको छ । यो सर्वेक्षण पछि नेपालगन्जमा कति बालबालिका छन् र कतिले खोप लगाएका छन् भन्ने यकिन हुने उनको भनाई छ । नेपालगन्जमा खोप नै नलगाउने र लगाएका पनि धेरैले बीचैमा छोड्ने गरेको पाइएको छ ।
नेपाल सरकारले दादुरा रुबेला, वीसीजी, जेई, टाइफाइड, पीसीभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिने गर्छ । जन्मदेखि १५ महिनाभित्र यी खोपहरु लगाइन्छ ।
सोमबार वडा नम्बर–१५ मा अभिमुखीकरण गरिएको थियो । जनस्वास्थ्य निरीक्षक तेजबहादुर ओली, विनोद विक, पिप्रहवा स्वास्थ्य चौकीका इन्चार्ज जयराम पाण्डेलगायतले अभिमुखीकरणमा सहजीकरण गरेका थिए ।
थप समाचार
पूर्ण खोपयुक्त बाँकेमा दादुराको प्रकोप, एक जनाको मृत्यु हुँदा ७८ संक्रमित