उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब


उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब

सांकेतिक तस्विर

नेपालगन्ज ७ चैत्र : करिब ६२ वर्षको अवधिमा उद्योग क्षेत्रमा मात्र करिब २८ खर्ब रुपैयाँबराबरको लगानी भएको पाइएकोे छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकानुसार गएको फागुन मसान्तसम्म विभिन्न क्षेत्रका उद्योगमा २७ खर्ब ८२ अर्ब रुपैयाँबराबरको लगानी प्रस्ताव भएको छ । आर्थिक वर्ष २०१७/१८ देखि २०७९/८० सम्म आठ हजार ९७४ उद्योगका लागि उक्त लगानी प्रस्ताव भएको हो ।

उक्त तथ्यांकानुसार हालसम्म दर्ता भएका उद्योगमध्ये सबैभन्दा धेरै लगानी प्रस्ताव साना उद्योगमा छ । तथ्यांकानुसार हालसम्म दर्ता भएका उद्योगले ६ लाख ७० हजार २५५ जनालाई रोजगारी उपलब्ध गराएको उल्लेख छ ।

आठ महिनामा साढे एक खर्बको प्रतिबद्धता

विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिना (गएको साउनदेखि फागुन मसान्तसम्म)को तथ्यांकानुसार स्वदेशी र विदेशी लगानीका १८३ उद्योगका लागि एक खर्ब ५५ अर्ब रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै, आठ महिनाको अवधिमा २३९ विदेशी लगानीका उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १९६ रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । जसमा फागुनमा मात्र तीन अर्ब ४४ करोड ९८ लाख ३८ हजार ६०० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता भित्रिएकोे छ ।

विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा मात्र दुई अर्ब ६४ करोड नौ लाख, भदौमा तीन अर्ब ४४ करोड ६५ लाख, असोजमा एक अर्ब ८५ करोड ४७ लाख र कात्तिकमा तीन अर्ब ६५ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस्तै, मंसिरमा ८० करोड आठ लाख, पुस महिनामा चार अर्ब ८५ करोड २० लाख, माघ महिनामा एक अर्ब ३९ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

विभागको तथ्यांकानुसार गत आर्थिक वर्ष २०७८÷७९ को साउनमा पाँच अर्ब ५३ करोड ५० लाख, भदौमा ६ अर्ब ३२ करोड, असोजमा ११ अर्ब ९६ करोड पाँच लाख, कात्तिकमा ९८ करोड, मंसिरमा पाँच अर्ब १५ करोड ५१ लाख, पुसमा ६१ करोड २० लाख, माघमा ५३ करोड ९५ लाख र फागुनमा दुई अर्ब २३ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

साढे १३ अर्ब नाफा विदेशियो

चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा झन्डै साढे १३ अर्ब रुपैयाँ विदेशिएको छ । उद्योग विभागले सार्वजनिक गरेको आठ महिनाको तथ्यांकानुसार १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लाभांशबापत रकम फिर्ताको सिफारिस भएको हो ।

विभागले आठ महिनामा रोयल्टीबापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार १०७ नेपाली रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८२५ भारतीय रुपैयाँ र सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागले सिफारिस गरेपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएपछि मात्र नेपाली रुपैयाँ विदेश लैजान पाइन्छ । विभागले स्वीकृत गरेको १५ दिनभित्र रकम लैजान पाइने विभागले जनाएको छ । -रासस