नेपालगन्ज १० चैत्र : राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरिएको छ । सोल्टी होटलमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
जनगणनाको अन्ति नतिजा अनुसार नेपालको कुल जनसंख्या तीन करोड पुग्न सकेन । राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
गत २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ र लैङ्गिक अनुपात ९४.१६ थियो ।
राष्ट्रिय योजना आयोगले राष्ट्रिय तथ्यांक कार्यालय मार्फत २५ कात्तिकदेखि ९ मंसिर २०७८ सालको जनगणना संकलन गरेको थियो । त्यसको प्रारम्भिक नतिजा गत वर्ष माघमै सार्वजनिक गरिएको थियो । प्रारम्भिक रिपोर्टमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।
अन्य लिङ्गीको पनि जनसंख्या गणना
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार कुल जनसंख्यामध्ये अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ देखिएको छ जुन कुल जनसंख्याको ०.०१ प्रतिशत हो । जनगणना अवधिमा वार्षिक औसत जनसंख्या वृद्धिदर प्रतिवर्ष ०.९२ प्रतिशत रहेको छ, जुन २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । जिल्लागत रुपमा हेर्दा सबैभन्दा बढी वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला भक्तपुर (३.३५ प्रतिशत) र सबैभन्दा कम वार्षिक औसत जनसंख्या वृद्धिदर भएको जिल्ला रामेछाप (१.६७ प्रतिशत) रहेका छन् ।
परिवारको आकार रौतहटमा सबैभन्दा बढी, गोरखा र दोलखामा सबैभन्दा कम
जनगणनाको नतिजाअनुसार जनघनत्व (प्रतिवर्ग किलोमिटर क्षेत्रफलमा रहेको जनसंख्या) १९८ जनाप्रतिवर्ग किलोमिटर रहेको छ, जुन २०६८ सालमा १८० वर्ग कि.मि. मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ । सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्लामा (५१६९ जना प्रतिवर्ग किलोमिटर) र सबै भन्दा कम मनाङ जिल्लामा (३ जना प्रतिवर्ग किलोमिटर) रहेको छ ।
जनगणना २०७८ अनुसार देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७ छन् । जसमध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ, जुन २०६८ सालमा ४.८८ जना रहेको थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ मा प्रतिपरिवार हिमाली क्षेत्रमा ४.३३ जना, पहाडमा ३.९९ जना र तराई क्षेत्रमा ४.७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी (५.९४) र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम (३.४९) रहेको छ । २०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो ।
२०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६६.१७ प्रतिशत रहेको छ भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । २०६८ अनुसार नगरपालिकाहरुमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत रहेको थियो भने गाउँपालिकाहरुमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।
भौगोलिक क्षेत्रअनुसार तराईमा कुल जनसंख्याको ५३.६१ प्रतिशत (१ करोड ५६ लाख ३४ हजार ६ जना), पहाडमा ४०.३१ प्रतिशत (१ करोड १७ लाख ५७ हजार ६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७ लाख ७२ हजार ९४८ जना) जनसंख्या रहेको छ । प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत रहेको छ । जिल्लागत रुपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं (२० लाख ४१ हजार ५८७ जना) र सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङ (५ हजार ६५८ जना) हो ।
२१ लाख बढी नेपाली विदेशमा
२१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।
यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।
जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।
जनसंख्या वृद्धिदर वि.सं. १९९८ यताकै सबैभन्दा कम
जनसंख्या वृद्धिदर वि.सं. १९९८ पछि सबैभन्दा कम घटेको छ । उक्त वर्ष १.२७ प्रतिशत रहेकोमा अहिले ०.९२ प्रतिशतमा झरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार १० वर्षमा हुने जनगणनामा २००९÷०११ मा २.७३ प्रतिशत पुगेको थियो । २०१८ मा फेरि १.३१ वृद्धिदरमा सीमित रहेको थियो ।
२०२८ देखि २०५८ सम्म नेपालको जनसंख्या वृद्धिदर २ प्रतिशतमाथि रहेको थियो । २०२८ मा २.०५ प्रतिशत, २०३८ मा २.६२ प्रतिशत, २०४८ मा २.०८ र २०५८ मा २.२५ प्रतिशतले जनसंख्या वृद्धिदर रहेको थियो ।
२०६८ मा १.३५ प्रतिशत वृद्धिदर रहेकोमा २०७८मा ०.९३ प्रतिशतमा सीमित छ ।
नेपालको साक्षरता दर ७६ प्रतिशत
नेपालको साक्षरता दर ७६ प्रतिशत पुगेको छ । साक्षरता दर पुरुषको भन्दा १४.२ प्रतिशत कम महिलाको छ । केन्द्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विस्तृत प्रतिवेदनअनुसार ५ वर्ष वा सोभन्दा बढी उमेरका कूल जनसंख्याको साक्षरता दर ७६.३ प्रतिशत रहेको छ ।
पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कूल साक्षरता दर ६५.९ प्रतिशत थियो । पुरुषको ७५.१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो ।
४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर
यस्तै देशभरमा ४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शौचालयको पहुँच नभएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ ले देशका कुल ६६,६०,८४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालयको प्रयोग गर्ने गरेको देखाएको छ ।
४.५ प्रतिशत परिवारहरूसँग अझै पनि शैचालयको पहुँच छैन । गत जनगणना २०६८ मा शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो ।
जम्मा परिवारमध्ये ९.८ प्रतिशत परिवारहरूले सार्वजनिक ढलमा जोडिएको फ्लस भएको, ५५.१ प्रतिशत परिवारहरूले सेप्टिक ट्याङ्कमा जोडिएको फ्लस भएको ३०.१ प्रतिशतले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन् ।
मधेस प्रदेशमा शौचालय नभएको परिवार सबैभन्दा बढी १२ प्रतिशत देखिएको छ भने लुम्बिनी प्रदेशमा ५.६ प्रतिशत रहेको छ । शौचालय नभएका परिवारहरू बागमती र गण्डकी प्रदेशमा सबैभन्दा कम १ प्रतिशत रहेका छन् ।