नेपालगन्ज १५ चैत्र : बाँकेमा वैज्ञानिक वन व्यवस्थापनका नाममा दुई हजार ४ सय ९६ वटा रुख काटिन लागिएकोछ । बाँकेका विभिन्न १२ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन शुरु भएको छ । तीमध्ये पनि ११ सामुदायिक वनमा पुराना र बुढा रुखको कटान र नयाँ रुखको संरक्षण हुने गरी काम शुरु गरिएको बताइएकोछ ।
जिल्ला वन कार्यालय, बाँकेका सहायक वन अधिकृत गणेश खड्काका अनुसार स्थानीय रुपमा रोजगारी सिर्जना गर्ने, वनको उत्पादन र उत्पादकत्व बढाउने लक्ष्य छ । वैज्ञानिक वन व्यवस्थापन सुरु भएको वनमा स्थानीय उपभोक्ताले पुराना रुख कटानको काम गरिने छ ।
वन व्यवस्थाबाट दाउरा सहज उपलब्ध हुने, स्थानीय वन पैदावरको संरक्षण हुने र वनको स्वच्छ र हराभरा हुने विश्वास लिएको उल्लेख गर्दै सहायक वन अधिकृत खड्काले सो वन व्यस्थापनबाट नयाँ वनको परिकल्पना गरिएको बताए । विसं २०७३ मा बाँकेका १७ सामुदायिक वनमा लागू भएको वैज्ञानिक वन व्यवस्थापन अहिले १२ सामुदायिक वनमा मात्र लागू भएको छ ।
वन व्यवस्थापनमा कुन सामुदायिक वनमा कति रुख कटान गर्ने भन्ने निश्चित गरेर कटानको काम शुरु भएको छ । जय दुर्गा भवानी सामुदायिक वनमा तीन सय ७४ रुख कटान हुने र १५ हजार चार सय २७ दशमलव छ क्युफिट काठ र ४५ दशमलव ७८, कोटहीदेवी सामुदायिक वन उपभोक्ता समितिमा तीन सय २५ रुख कटान हुने र १५ हजार छ सय ९२ दशमलव ३२ काठ र ४९ दशमलव ९९ क्युफिट काठको व्यवस्थापन हुनेछ ।
हरलाफाँटा सामुदायिक वनमा ९४ रुख कटान हुने तीन हजार ९७६ दशमलव ६१ क्युफिट काठ र ११ दशमलव ६२ क्युफिट, सिद्धसाई कुमारी समुदायिक वनमा एक सय ३८ रुख कटान हुने छ हजार ३५ दशमलव ५२ क्युफिट काठ र १७ दशमलव सात क्युफिट तथा जनकल्याण सामुदायिक वनको एक सय ३९ रुख कटान हुने आठ हजार २५१ दशमलव ६० क्युफिट काठ र ३० दशमलव ३० क्युफिट दाउरा निस्कने बताइएको छ ।
यस्तै लालीगुराँस सामुदायिक वनको दुई सय १८ रुखको कटान हुने ११ हजार एक सय दुई दशमलव २२ क्युफिट काठ र ३६.६३ दाउरा, मधुवन सामुदायिक वनको एक सय ६० रुख कटान हुने छ हजार पाँच सय ४० दशमलव ३३ क्युफिट काठ र २० दशमलव २२ क्युफिट दाउरा, त्रिशक्ति सामुदायिन वनको दुई सय दुई रुख कटान हुने र आठ हजार पाँच सय ९५ दशमलव ९२ क्युफिट काठ र २८ दशमवल ६९ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । अशोक सामुदायिक वनको तीन सय १५ रुख कटान हुने १४ हजार एक सय २९ क्युफिट काठ र ३५ दशमलव ३० क्युफिट दाउरा निस्कनेछ ।
जनमुखी सामुदायिक वनको दुई सय ९७ रुख कटान हुने २२ हजार ८३ दशमलव ७६ क्युफिट काठ र ७३ दशमलव ५१ क्युफिट दाउराको व्यवस्थापन हुनेछ । हरियाली सामुदायिक वनमा दुई सय ३४ रुख कटान हुने १३ हजार नौ सय ८४ दशमलव ९० क्युफिट काठ र ४१ दशमलव ९७ क्युफिट दाउरा उत्पादन हुनेछ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार वैज्ञानिक वन व्यवस्थापनको काम राप्तीसोनारी गाउँपालिकामा मात्रै लागू छ ।
यसैबीच, वैज्ञानिक वन व्यवस्थापनका नाममा घना जंगलमा भएका काँचा रुखहरु व्यापक मात्रामा फँडानी गरिएको र वन विनास तीव्ररुपमा भएको भन्दै तत्कालिन केपी शर्मा ओली सरकारले २०७७ माघ ११ गते बसेको मन्त्रीपरिषद बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो ।
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएसँगै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम स्वतः खारेज भएको थियो । करिब ८ वर्ष अघिदेखि कपिलवस्तु जिल्लाबाट सुरु भएको यो कार्यक्रम बाँके, डोटी, जुम्ला, रुपन्देही, ललितपुर, बारा, इलाम, धनुषा लगायतका ४४ जिल्लामा कार्यान्वयन गरिएको थियो ।
कुल वन क्षेत्रको ५१ प्रतिशत क्षेत्रमा उत्पादनमूलक वैज्ञानिक वन व्यवस्थापन गरी वार्षिक ६ देखि १२ करोड घनफिटसम्म काठ उत्पादन, १२ लाख ९५ हजारसम्मले वार्षिक रोजगारी र वार्षिक करिब एक खर्ब राजस्व आर्जन गर्ने लक्ष्य सो कार्यक्रमको थियो ।
यस्तै वैज्ञानिक वन व्यवस्थापनको अर्काे लक्ष्य विदेशबाट हुने काठ आयातलाई कम गरी व्यापार असन्तुलन कम गर्नु थियो । तर, ६ वर्षयता यसमा कुनै उपलब्धी हासिल नभएको र विदेशबाट काठ आयात हुने क्रम घट्नुको साटो वर्षेनि बढ्यो ।
कार्यक्रममा नाममा विशेषगरि तराईको जंगलका सालका रुखहरु सखाप पारियो भने पहाडी जिल्लामा सल्लाका रुखहरु सखाप गरिएको विभिन्न अध्ययनहरुको समेत निश्कर्ष छ । सामुदायिक वन व्यवस्थापन समितिका सदस्य र पदाधिकारी, ‘वनमाफिया’, ठेकेदार र तस्करको मिलोमतोमा आफूखुशी संरक्षित तथा लोपोन्मुख रुखविरुवा कटान र तस्करी हुने गरेकोछ ।