खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै


खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोजिँदै

नेपालगन्ज २३ चैत्र : नेपालगन्जमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोजिँदैछ ।

१६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोज्न सुरु गरिएको हो । बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि खोप लगाउन छुटेका बालबालिकाहरुलाई घर–घरमा पुगेर खोज्न थालिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

‘खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा–वडामा कार्यशाला गोष्ठी ग¥यौं, पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गरेर स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई वडा–वडामा खटाएका छौं, चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाहरुको लाइन लिष्टिङ गर्छौं, त्यसपछि खोप लगाउँछौं,’ बस्नेतले भने–‘वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी गर्ने र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले हामी घरधुरी सर्वेक्षणमा जुटेका छौं ।’

Kanti Aarogya Hospital Nepalgunj

युनिसेफको सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि गरिरहेको बस्नेतले बताए। हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सम्पन्न भएको छ ।

नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइएको थियो । उक्त कार्ययोजना अनुसार घरधुरी सर्वेक्षण भइरहेको छ । कार्यशालामार्फत पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गरिएको छ ।

वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित पनि गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।

यसअघि नै पूर्ण खोप घोषणा भइसकेको नेपालगन्ज उपमहानगरपालिकालाई बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्नका लागि घरदैलो अभियान र सर्वेक्षण थालिएको हो ।