‘विश्व’को एकमात्र जुङ्गेश्वर महादेवको मन्दिर पुनः निर्माण गरिदैँ


‘विश्व’को एकमात्र जुङ्गेश्वर महादेवको मन्दिर पुनः निर्माण गरिदैँ

मर्मतका लागि पोखरीको पानी फालेपछिको बागेश्वरी मन्दिर परिसरमा रहेको जुङ्गेश्वर महादेवको मन्दिर । तस्विर:विजय मल्ल /सेतोखरी

नेपालगन्ज २८ चैत्र : पश्चिम नेपालको प्रशिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको विश्वकै एक मात्र जुँगे महादेवको मुर्ती भएको मन्दिर पुनः निर्माणको कार्य सुरु भएकोछ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–२ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको महादेवको उक्त मन्दिर पुनः निर्माण गरिने भएको हो ।

नेपालगन्ज उप–महानगरपालिकाले मन्दिर पुनः निर्माणका लागि दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएकोछ । केही महिनाअघि मात्र मन्दिर पुनः निर्माणका लागि टेण्डर आह्वान गरी यतिबेला धमाधम काम गरिएकोछ ।

बागेश्वरी मन्दिर परिसरमा रहेको पोखरीमा जुँगे महादेवको पूर्ण कद भएको मुर्ती छ । उक्त मुर्तीमा पुजापाठ गर्न निर्माण गरिएको पक्की पुल हुँदै जानुपर्छ । मन्दिर पुनःनिर्माणका लागि पोखरीको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको हो ।

७ दिन लगाएर ‘समरसेल’बाट उक्त पोखरीको पानी फालिएको छ । सो पोखरीमा रहेका साना र ठूला माछालाई बाँकेको राप्ती नदिमा छाडिने भन्दै लगिएपनि नेपालगन्जको धम्बोझी स्थित वाटरपार्कमा छाडिएको छ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम शुरु गरिएको जानकारी दिए ।

मन्दिरसम्म पुग्नका लागि वर्षौँ पहिले बनाइएको प्रवेश मार्ग जीर्ण भएपछि उप–महानगरपालिकाले नयाँ निर्माण गर्न लागेको हो । ‘अहिले मन्दिरसम्म पुग्ने बाटो फराकिलो बनाइने छ,’ नगर प्रमुख विष्टले भने, ‘मन्दिरभित्रको पूजा गर्ने स्थान पनि फराकिलो हुनेछ ।’

नयाँ संरचना निर्माण भएपनि मन्दिरभित्रका घाटका क्षेत्र फराकिलो हुने उप–महानगरपालिकाले जनाएको छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको पोखरीको बीच भागमा रहेको जुँगे महादेवको मूर्ती रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेश मार्ग रहेका कारण शिवरात्रिलगायत विभिन्न चाडपर्वको समयमा भक्तजनहरूको भीड हुने समयमा दुर्घटनाको जोखिम रहने गरेकोमा नयाँ निर्माण भएपछि भक्तजनलाई सहजता हुने भएको छ ।

मन्दिर पुनः निमार्ण योजनामा हाल प्रत्येक हप्ता सोमबार हुने महाआरती स्थलतर्फ रहेको घाट क्षेत्रमा थप घाट निमार्ण गरिनेछ । पूर्वपट्टि उत्तर र दक्षिणतर्फ घाटको क्षेत्र फराकिलो बनाइनेछ ।

जुङ्गेश्वर महादेवको मुर्ती रहेको स्थानको ठिक तल पोखरीमा गहिरो कुवा (ईनार) रहेकोछ । उक्त ईनारको वरिपरिबाट पर्खाल, पिलर उठाएर माथि ढलान गरिएकोछ। ढलान गरिएको स्थानमा जुङ्गेश्वर महादेको मुर्ती रहेकोछ । सो स्थानमा जुङ्गेश्वर महादेवको मुर्ती विक्रम सम्बद २००६ सालमा स्थापना गरिएको बताइएकोछ ।