सातु र सर्वत खाएर मनाइयो अक्षय तृतीया


सातु र सर्वत खाएर मनाइयो अक्षय तृतीया

ठेलामा सातु राखेर बेच्न लग्दै गरेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–२१ पुरैनाका सातु ब्यापारी श्रीपाल भुजुवा । तस्विर: विजय मल्ल /सेतोखरी

नेपालगन्ज १० वैशाख : आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौंको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइएकोछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले सर्वत र जौंको सातु खाने पर्वको रुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

देशकै उच्च गर्मी हुने स्थान नेपालगन्जमा पछिल्लो एक हप्तादेखि गर्मी ह्वात्तै बढेको छ । प्रचण्ड गर्मीमा यहाँका स्थानीयबासी गर्मी छल्न यसअघि नै सातु खाने गरेका थिए । तर, आज अक्षया तृतीयाकै दिन सातु खाइने हुनाले सातुको ब्यापार पनि ह्वात्तै बढेर आएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर–२१ पुरैनाका सातु ब्यापारी श्रीपाल भुजुवाले दिनहुँ ५० देखि ६० केजीसम्म सातु विक्री गर्ने गरेको बताए ।

गर्मी बढेसँगै सातुको माग पनि बढेकोछ । जौं तथा चनाबाट निर्माण गरिने सातुको माग बजारमा रहेको छ । चनाबाट बनेको सातु प्रतिकिलो २ सय २० रुपैयाँ र जौंबाट बनेको सातु प्रतिकिलो एक सय २० रुपैयाँमा विक्री भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

धार्मिक तथा स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको सातुको उपलब्धता भने सहज हुन सकेको छैन् । पहिले सवैले आफ्नो घरमा जौँको सातु बनाउने र त्यसलाई प्रयोग गर्ने गर्दथे । तर, समयसंगै सबैले आ–आफ्नो घरमा सातु बनाउन नसक्ने भएपछि यसको माग पनि विस्तारै घटेर गयो । तर, पछिल्लो समय यसको ब्यापार हुनथालेपछि माग बढेको हो । अझ सातुलाई जिविको पार्जनको लागि अर्को विकल्पका रुपमा लिएपछि यतिवेला बाँकेको नेपालगन्जमा सातुको माग ह्वात्तै बढेकोछ ।

स्वास्थ्यका दृष्टिकोणमा सातु

विशेषगरी बैशाख महिनामा पर्ने अक्षय तृतीयाका अवसरमा बिक्री गरिने सातु स्वास्थ्यका दृष्टिकोणले गुणी मानिन्छ । यसका साथसाथै धार्मिक मान्यता तथा परम्पराले पनि महत्वपूर्ण मानिन्छ । जौंको सातु खाँदा शितलता प्राप्त हुन्छ । यसले रगतको तापमानलाई नियन्त्रण गर्छ, गर्मी तथा ज्वोरोलाई रोक्छ, पुरानो ज्वोरो, टिबी तथा खोकीका लागि पनि जौंको प्रयोग गर्नु लाभदायक भएको चिकित्स बताउँछन् ।

जौंको प्रयोग गर्नाले शरीर सुन्निएको कम गर्ने, मोटोपन घटाउने, मुलायम त्वचाका लागि तथा गर्भपतन लगायतमा उपयोगी हुने गरेको चिकित्सक बताउछन् । ‘सातु’ जौंलाई भुटी पिसेर बनाइएको पीठो हो । जसलाई विभिन्न तरिकाबाट उपभोग गर्ने गरिन्छ । सातुलाई चिनी, मिश्री, गुड तथा कोही कोहीले खुर्सानी र नुन पिसेर पानी मिसाएर खाने चलन छ ।

धर्मका दृष्टिले सातु

हिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरू पर्छन् । ती मध्ये एउटा महायोगको नाम हो ‘अक्षय तृतीया’ । यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवान विष्णु र लक्ष्मीको संयुक्त पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सु–स्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।

हिन्दु काल गणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरू छन् । ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । जो यसवर्ष आज बैशाख १० गते मनाइदैछ ।

अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले यस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । बैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैंची मह चिनी सख्खर र मिस्रीमध्ये एक चिजलाई सर्बतसँगै र जौंको सातु दान गर्ने चलन छ ।

यसदिन बुढाबुढीलाई छाता, लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि दान दिइने चलन छ । भनिन्छ, यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ । यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो ।

वेदव्यासले यसै दिन महाभारतको रचना प्रारम्भ गरेका थिए । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार अक्षय तृतियाका दिन दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।

कुनैपनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरूको बलबृद्धि हुन्छ ।

यसदिन जलले भरिएका कलश, गाई, भूमि, स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण पनि गरिन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरञ्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यही तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरूमध्ये एक बद्रीनाथ धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ ।

किन रोजियो जौं र सर्वत ?

जौं र सर्वत रोज्नुको पनि विशेष महत्व रहेको बताइन्छ । इतिहासकारहरूका अनुसार यो पर्व वैदिक काल(१५ सय इसापूर्वदेखि १००० इसापूर्वसम्म) र महाकाव्य(नौ सय इसापूर्व) कालदेखि नै चलेको पाइन्छ । सो समयमा जौं नेपाल लगायत भारत वर्षमा सबभन्दा बढी मुख्य उब्जाउ हुने खेती थियो । त्यतिबेला नै विभिन्न यज्ञ यज्ञादि कर्महरूमा समेत धेरै उपलब्ध हुने हिसाबले जौंको प्रयोग हुन थाल्यो । समयक्रमसँगै बिस्तारै जांैको उत्पादन कम हुन थाल्यो । त्यसपछि पुरानो परम्परा जोगाउनको लागि मात्रै भएपनि यसलाई एउटा पवित्र अन्नको रुपमा मान्न थालियो । जुन परम्परा अहिलेसम्म चल्दै आएको इतिहासकारहरूको मत छ ।