नेपालगन्जको किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ


नेपालगन्जको किङ क्रस क्लबबाट अटोमेटिक पेस्तोलसहित तीन जना पक्राउ

नेपालगन्ज २७ वैशाख : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ स्थित एक डान्स बारबाट अटोमेटिक पेस्तोल बाँकेका एकसहित तीन जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामबहादुर घर्तिमगरका अनुसार पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिकाका वडा नम्बर–९ का २९ वर्षीय धर्म पुनमगर, बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर–८ बस्ने २८ वर्षीय सुमन रिजाल र बर्दिया गेरुवा गाउँपालिका वडा नम्बर–५ बस्ने ३२ वर्षीय सागर शाहलाई प्रहरीले अटोमेटिक पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।

नेपालगन्ज स्थित किङ क्रस क्लबमा आएका उनीहरुले झै–झगडा गरेको र उनीहरुको साथमा हतियार (पेस्तोल) रहेको भन्ने सूचना पाएको प्रहरीले हिजो मङ्गलबार राती साढे ११ बजे उनीहरुलाई नियन्त्रण लिइ खानतलासी गर्दा मेड इन यूएसए नम्बर ११११ लेखिएको स्वचालित (अटोमेटिक) पेस्तोल एक थान, सोही पेस्तोलमा लोड गरि राखेको म्याग्जिनमा एक राउण्ड गोली फेला पारेको प्रहरीले जनाएकोछ ।

डिएसपी घर्तिमगरले स्थानीय किङ क्रस क्लब डान्स बारमा मंगलबार राति झगडा भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले जाँच गर्ने क्रममा सोही क्लबको शौचालयमा लुकाइराखेको उक्त अटोमेटिक पेस्तोल र गोलीसहित उनीहरुलाई पक्राउ गरेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ स्थित चन्दननाथ होटल नजिक सडकमा पार्किङ गरि राखेको पक्राउ परेका युवाहरुले प्रयोग गर्ने बा ११ च ८०० नम्बरको कारको खानतलासी लिदा प्रहरीले कारको चालक सिटको बाँया तर्फको सिटमुनी रहेको १७.५ ईन्च लामो एक थान खुकुरी समेत फेला पारी अनुसन्धान अघि बढाएकोछ ।

खुला सीमा नाकाका कारण अवैध रूपमा भित्रिने साना हतियार बाँकेको शान्ति सुरक्षाका लागि निकै ठूलो चुनौती बनेको छ । बेला बेलामा बाँकेमा साना हतियारसहित विभिन्न व्यक्तिहरू पक्राउ पर्नुले पनि त्यस्ता हतियारहरू जिल्लाको सुरक्षाका लागि खतरा बनेका छन् ।

पक्राउ परेका उनीहरुले सो अटोमेटिक पेस्तोल र गोली कहाँबाट र केका लागि ल्याएका हुन् भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।