नेपालगन्ज २९ वैशाख : पानी नपर्दा र डढेलोका घटना बढेकाले वायु प्रदूषण पुनःबढ्न थालेको छ ।
हावाको गुणस्तर मापन सूचकाङ्क एक्यूआइका अनुसार अहिले ललितपुर पाटनको एक्यूआइ एक सय ७६, काठमाडौँ कीर्तिपुरको एक सय ६३, रत्नपार्कको एक सय ६३, नारायणीको एक सय ७१ र धनकुटाको एक सय ५५ रहेको छ ।
एक्यूआइ शून्यदेखि ५० सम्मको मानकलाई सामान्य अवस्था मानिन्छ । एक्यूआइ एक सय ५० भन्दामाथि जानुलाई हानिकारक मानिने गरिएको छ ।
पाटन, कीर्तिपुर, रत्नपार्क, नारायणी र धनकुटाको एक्यूआइ एक सय ५० भन्दामाथि छ। स्वास्थ्यलाई नै हानि गर्ने खालको प्रदूषण बढेकाले घर बाहिर निस्कँदा मास्क लगाउन स्वास्थ्य विज्ञले सुझाव दिएका छन् ।
प्रदूषणकै कारण काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा बिहानदेखि तुवाँलो लागेको मौसमविद् गोविन्द झाले जानकारी दिए । उनका अनुसार तत्काल पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण अझै बढ्ने अनुमान छ ।
भक्तपुर, मध्यपुरथिमि र वीरेन्द्रनगरको हावा पनि जोखिममा रहेकाले यहाँको हावा अस्वस्थकर देखिएको जनाइएको छ । यी क्षेत्रको एक्यूआइ एक सय ५० भन्दा कम रहेको छ ।
यस्तो हावामा दीर्घरोगी, बालबालिका र ज्येष्ठ नागरिकलाई जोखिम हुन्ने विज्ञ बताउँछन् । गाडीबाट निस्किएको धुवाँका कारण पनि वातावरण प्रदूषित बन्दै गएको बताइएको छ । -रासस