‘आफ्ना मागहरु पूरा नभएसम्म स्लाइन पानी नचढाउने अडान’
नेपालगन्ज ४ जेठ : बर्दियाको जब्दीघाटमा नयाँ पुल बन्ने भएको छ । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जब्दीघाटमा नयाँ पुल बनाउने निर्णय भएको बताए ।
उनका अनुसार १० दिनभित्र टेण्डर आह्वान गर्ने गरी तयारी अघि बढेको छ । पुल बनाउन माग गर्दै सांसद सञ्जय गौतम भत्किएकै पुलमुनि अनशनमा बसेपछि सडक विभागका महानिर्देशकको टोली जब्दीघाट पुगेर नयाँ पुल बनाउने आवश्वासन दिएर फर्किएको थियो ।
भत्किएको पुलभन्दा केही मिटर तलमाथि हुने गरी पुल निर्माण गर्ने सडक विभागको योजना छ । ३० साउन २०७४ मा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दीघाट पुल भत्केको थियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । तर, उदघाटन हुन नपाई भत्किएको थियो । भत्किएको ६ वर्षपछि सरकारले यो पुल हटाउनुपर्ने ठहर गरेको छ ।
४ सय ३५ मिटर लामो र ७.४ मिटर चौडा पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पाइल हाइटको सम्बन्धमा भएको गम्भीर लापरवाहीलाई नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रुपमा कार्य गरेको, फिल्डको नापजाँच हचुवाको भरमा गरेको अख्तियारले ठहर गरेको थियो ।
यसमा ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्स्नका सञ्चालक रहेका तत्कालीन सांसद हरिनारायण रौयिवारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा परेको थियो । निर्माण सामग्रीहरुको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको र डिजाइन बमोजिम निर्माण नगरेको कारण लोड थाम्न नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टि भएको अख्तियारको दाबी थियो ।
उक्त पुल निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरुबाट लाइन लेभल तथा पाइल हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई स्वीकार गरी गुपचुप रुपमा काम गरेकाले उक्त काममा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरुको मिलेमतो पाइएको अख्तियारको दाबी थियो ।
अनशनरत गौतमको स्वास्थ्यमा असर देखियो
यसैबीच, बर्दियाको बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने जब्दीघाटको पुलमुनी बसेर १५ वटा माग पुरा गराउन एक हप्तादेखि आमरण अनशनमा बसेका नेपाली काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका सांसद सञ्जयकुमार गौतमको स्वास्थ्यमा असर देखिन थालेकोछ ।
आमरण अनशनमा बसेका सांसद गौतमको स्वास्थ्यमा असर देखिएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर सुभाष पाण्डेयले जानकारी दिए । उनका अनुसार गौतमको शरीरमा पानीको मात्रा घट्न थालेको छ । स्वास्थ अवस्था नाजुक बन्दै गएपछि प्रमुख जिल्ला अधिकारी नारायण रिसाल, प्रहरी उपरीक्षक सुदीप शाहीलगायत चिकित्सकको टोली अनशनस्थल पुगेर स्वास्थ्यको अवस्थाबारे जानकारी लिएको थियो । तर, सांसद गौतमले आफ्ना मागहरु पूरा नभएसम्म स्लाइन पानी नचढाउने अडान लिएकाछन् ।
उनका मागप्रति राज्य बेखबर भएको भन्दै सत्याग्रह अभियानमा ऐक्यबद्धता जनाउँदै दिनहुँ दर्जन बढीले २४ घण्टे रिले अनशन पनि जारी राखेका छन् ।
थप समाचार
जब्दीघाट पुलमुनि पूर्वमन्त्री सञ्जयको आमरण अनशन