नेपालगन्ज १३ जेठः नेपालगन्जको प्रहरी तालिम केन्द्र नजिक रहेको रेसुङ्गा फर्निचर एण्ड चिरन सप्लायर्समा आगलागी भएको छ । उक्त आगलागीबाट डेढ करोड बढीको क्षति भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राती भएको आगलागीबाट पसलमा रहेका सामान जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्बर पालले आगलागीबाट डेढ करोड बढी क्षति भएको बताए । उनले भने, ‘क्षतिको विवरण संकलन भएको छैन, तरपनि डेढ करोड बढीको क्षति भएको हाम्रो अनुमान छ ।’
बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । आगलागी भएको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी, दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पालले बताए । पसल सञ्चालक माधव पोखरेलका अनुसार राती करिव पौने १२ बजेतिर एक्कासी आगलागी भएको थियो ।
समयमा दमकल नआउँदा बढी क्षति भएको उनको गुनासो छ । ‘दमकल समयमा आईपुगेको भए धेरै क्षति हुने थिएन, आगलागी भएको ४० मिनेटपछि मात्र दमकल आईपुग्यो,’ उनले भने । आगलागीबाट पसलमा रहेको फर्निचर, फर्निसिङका सामान, दराज, सोफा, पिफम, टेबुल, कुर्सी लगायत पूर्ण रुपमा जलेर नष्ट भएको पोखरेलले जानकारी दिए ।
घटनाका प्रत्यक्षदर्शी समेत रहेका स्थानीय कृष्णप्रसाद सुवेदीले दमकल समयमा नआउँदा धेरै क्षति भएको बताए । ‘आगलागी भएको देख्ने बित्तिकै दमकललाई बोलायौं, तर नेपालगन्ज उपमहानगरपालिकाको दमकल डेढ÷दुई किलोमिटर टाढा रहेको घटनास्थलमा पनि ४० मिनेटपछि मात्रै आयो,’ उनले भने ।
आगलागीमा परेर पसलमा काम गर्ने २८ वर्षिय अन्जन थापा घाइते भएका छन् । उनको अनुहार र खुट्टामा आगोले पोलेको प्रहरीले जनाएको छ । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । समयमा दमकल नआउँदा क्षति धेरै भएको भन्दै नेपालगन्जका ब्यवसायीले आक्रोश पोखेका छन् ।