बालबालिकाका गुनासा स्थानीय सरकारले नसुनेको आरोप
नेपालगन्ज : १६ वर्षमुनि विवाह गर्न पाउनुपर्छ भन्ने माग गरिरहेका बाँकेका महिलाविरुद्ध किशोरीहरुले एक्यबद्धता जनाएकाछन् । जिल्लाका आठवटै स्थानीय तहमा गठित किशोरी क्लबका किशोरीहरुले बालविवाह विरुद्ध एक्यबद्धता जनाउदै विरोधमा उत्रेका हुन् ।
बाँकेका सीमित समुदायका महिलाहरुले विवाहको उमेर घटाउनुपर्ने माग गर्दै आएको कार्य तर्कसंगत नभइ कानून विपरित भएको भन्दै उनीहरुले सोमबार पत्रकार सम्मेलनमार्फत सरोकारवालाको ध्यानाकर्षण गराए ।
पत्रकार सम्मेलनमा बोल्दै एकता किशोरी क्लबकी अध्यक्ष अनु रावतले –‘बालविवाह न्यूनिकरणका लागि प्रत्येक पालिकामा विभिन्न अभियानहरु सञ्चालन भइरहेका बेला केही समूह÷अमुख ब्यक्तिले कम उमेरमा विवाह गर्न पाउनुपर्छ भन्ने माग राख्दै आएको प्रति घोर विरोध जनाइन ।’ उनले भनिन्–‘कम उमेरमा विवाह गर्दा हामी बालबालिकामा नकरात्मक असर पुग्छ । तसर्थ विहेको उमेर घटाउनेबारे गरिएको माग तर्कसंगत छैन ।
यस्तै पत्रकार सम्मेलनमा लगनशील किशोरी क्लब खजुराकी कोषाध्यक्ष चेतना क्षेत्रीले १६ वर्ष भित्रै विवाह गर्न पाउनुपर्ने माग राख्ने ब्यक्तिहरुको बुद्धि भ्रष्ट भएको बताईन् । यसो गर्नु भनेको बालअधिकारको हनन्का साथै कानून विरुद्ध कार्य हो । यसबारे सरोकारवालालाई गम्भीर हुन हामी आग्रह गर्छौं ।
उनले भनिन् कानूनको प्रभावकारी कार्यान्वय नहुनु र कानून विरुद्ध उत्रिनेलाई कारबाही गर्न नसक्नुले समाजमा अराजकता फैलिदै गएकोछ । यो राज्यको कमजोरीकै कारण यस्तो भएको हो । कानून विरुद्ध उत्रिनेलाई राज्यले किन कारबाही गर्न सकेन ? चेतनाले प्रतिप्रश्न गरिन् ।
पत्रकार सम्मेलनमा बोल्दै चेतना क्षेत्रीले बालविवाह गर्ने गराउनेलाई सम्झाउने दिन गए । अभिभावकहरु बुझेर पनि बुझ पचाइरहेकाछन् । अब कारबाही गर्नुपर्छ ।
यस्तै पत्रकार सम्मेलनमा उपस्थित उज्वल किशोरी क्लबकी उपाध्यक्ष ज्योती विकले १६ वर्षमै विवाह गर्न पाउने माग बन्द गरिनुपर्ने बताइन् । उनले भनिन्– कानून विपरित उठाइएका यस्ता मागमा सरोकारवाला गम्भीर हुननसक्दा यसले प्रसय पाइरहेकोछ ।
बालविवाह न्यूनिकरणका क्षेत्रमा हामीले धेरै काम गरिरहेकाछौं तर, स्थानीय सरकारले हाम्रा आवाज सुन्दैन । वेवास्ता गर्छ । कार्यालय घेराउ गरि भ्रमपूर्ण र कानूनविपरित माग राख्नेलाई किन कारबाही गर्न सकेन जानकी गाँउपालिका–४, सिर्जनशली किशोरी क्लबकी सदस्य सिर्जना बुढामगरले भनिन्– धर्म, जात, परम्परा र संस्कारका नाममा हुने बालविवाहलाई सधैका लागि बन्द गरियोस् ।
विहेको उमेर घटाउने विरुद्ध उत्रिएका जिल्लाका किशोरीक्लबका किशोरीहरुले साउन ३१ गते सवै पालिकामा एकसाथ ज्ञापन पत्र बुझाउने कार्ययोजना भएको बताए । ज्ञापनपत्र मार्फत आफ्ना मागप्रति सरोकारवाला गम्भीर नभए सशक्त चरणबद्ध आन्दोलन गर्ने पत्रकार सम्मेलामा उपस्थित किशोरीहरुले बताएकाछन् ।
उनीहरुले जारी गरेको प्रेस विज्ञप्तीमा स्थानीय तहले बालविवाह न्यूनिकरणका लागि कार्ययोजना बनाई बजेट विनियोजन गरिनुपर्ने, शिक्षामा पहुँच बृद्धिका लागि विशेष प्याकेजको व्यवस्था, सवै पालिकालाई बालविवाहमुक्त घोषणा गरिनुपर्ने लगायतका माग अघि सारेका छन् ।
बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने मुलुकी अपराध संहितामा उल्लेख छ । विसं २०७५ साल भदौ १ देखि लागु भएको मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।
यसअघि महिलाको हकमा १८ वर्ष र पुरुषको हकमा २० वर्षलाई विवाहको न्यूनतम उमेर मानिँदै आएको थियो । तर, यो संवैधानिक र लैङ्गिक समानताका आधारमा ठिक र बराबरी नभएको भन्दै कुरा उठेपछि केटा र केटी दुवैको विवाह गर्ने उमेर २० वर्ष बनाइएको थियो । यदि २० वर्षअघि गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ ।
कानूनले २० वर्षमुनिको विवाहलाई गैरकानुनी मानेता पनि जिल्लाका मधेसी समुदायका महिलाले १६ वर्षमा छोरीको बिहे गर्न पाउनुपर्ने भन्दै यसअघि जिल्ला प्रशासन कार्यालय, नेपालगन्ज उपमहानगरपालिकामा धर्ना दिएका थिए ।
बालविवाह रोक्न बाँके विभिन्न संघसस्था तथा प्रहरी सक्रियरुपमा लागिरहेता पनि बालविवाह अझै न्यूनिकरण हुन सकेको छैन । वर्षेनी बालविवाह न्यूनीकरणका लागि लाखौ रुपैयाँ खर्च भएता पनि बालविवाह समस्या ज्यूँका त्यूँ छ ।
नेपालगन्ज उप महानगरपालिकाका सवैजसो वडामा बालविवाहको समस्या प्रशस्त मात्रामा छ । बालविवाह न्यूनिकरणका लागि नगरमै बालअधिकारका संघसस्था, सरकारी संयन्त्र सक्रियरुपमा काम गरिरहेता पनि बालविवाहका घटना दिनहुँ हुने गरेका छन् । नगरमै यस्तो अवस्था देखिएपछि जिल्लाका अन्य ग्रामीण बस्तिमा बालविवाहको अवस्था झन् जटिल रहेको पाइएकोछ ।
समुदाय, धर्म र रितिरिवाजका कारण विवाहका प्रकृति फरक छन् । रितिरिवाज, परम्परा र धर्मका नाममा बालविवाह हुने गरेका छन् भने कतिपय रुढिबादी परम्परा र गलत बुझाईका कारण हुने गर्छन् ।
मधेशी तथा मुस्लिम समुदायमा बालबिबाहका घटना बढि हुने गरेको छ । अभिभावक धर्म, रितिरिवाज तथा सामाजिक मान्यताका कारण बालविबाह गर्ने र गराउने गरिरहेका छन् । बालविवाह रोक्ने कार्य सवैको भूमिका हो । घरपरिवार र समुदाय स्तरबाटै संयन्त्र सक्रिय हुनु पर्छ ।
मुलत बालविवाह कानूनी र सामाजिक अपराध हो तर, हाम्रा सामाजिक मूल्य मान्यता, रितिरिवाज र परम्पराका नाममा हुने विवाहले बालबालिकालाई ठूलो नकरात्मक प्रभाव पारेको छ । कतिपय अवस्थामा राजनितिज्ञहरु बालविवाहको पक्षमा रही विवाहलाई प्रसय दिइरहेका छन् ।