बाँकेमा नौ महिनामै बन्द भए दुई सय ६५ घरेलु उद्योग


सेतोखरी सेतोखरी   शनिबार, वैशाख ८, २०८१
बाँकेमा नौ महिनामै बन्द भए दुई सय ६५ घरेलु उद्योग

नेपालगन्ज स्थित घरेलु तथा साना उद्योगको कार्यालय । तस्विर: विजय मल्ल/ सेतोखरी

नेपालगन्ज ८ वैशाख : बाँकेमा चालु आर्थिक वर्षको नौ महिनामा दुई सय ६५ घरेलु तथा साना उद्योग बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण हुन नसकेका एक सय ६५ उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी काशीलाल अधिकारीले बताए ।

उनका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फार्म बढिरहेका छन् । एक सय पाँच उद्योगतर्फ र एक सय ६० वाणिज्यतर्फका फर्म बन्द भएका हुन् । उद्योग व्यवसाय बन्द गराउँदा उद्योगी÷व्यवसायीले आफ्नो घरायसी कारण देखाउने गरेका छन् ।

Gharelu_Sana_udhyog_npj_3-1713603581.jpg
 

बाँकेमा गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६० घरेलु तथा साना उद्योग बन्द भएका थिए । यस वर्ष गत वर्षको तुलनामा धेरै उद्योग व्यवसाय बन्द भएका छन् । यस वर्ष चालु आर्थिक वर्षको चैतसम्म नौ महिनाको अवधिमा उद्योगतर्फ चार सय ३४ र वाणिज्यतर्फ तीन सय ७३ गरी आठ सय सात घरेलु तथा साना उद्योग दर्ता भएको सूचना अधिकारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा चैत मसान्तसम्म उद्योगतर्फका छ सय ३१ र वाणिज्य फार्म एक हजार एक सय ५० गरी एक हजार सात सय ८१ घरेलु तथा साना उद्योग नविकरण भएका छन् । कोभिड–१९ को असर, बैंकको ब्याज वृद्धि हुनु, आर्थिक तरलता लगायत कारणले उद्योग तथा वाणिज्य फार्म बन्द हुनेक्रम बढेको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले बताए ।

उनका अनुसार यसरी व्यवसाय बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली भएका छन् । कैयौं उद्योगी व्यवसायी नेपालगञ्जबाट विस्थापित हुन पुगेका छन् ।