बाँकेमा चैते धानप्रति किसानको बढ्दो आर्कषण, ४० हेक्टर क्षेत्रफलमा गरियो खेती


सेतोखरी सेतोखरी   मंगलबार, वैशाख ११, २०८१
बाँकेमा चैते धानप्रति किसानको बढ्दो आर्कषण, ४० हेक्टर क्षेत्रफलमा गरियो खेती

नेपालगन्ज ११ वैशाख : बाँकेमा पछिल्लो केही वर्षयता चैते धानप्रति किसानको आर्कषण बढ्दो छ । चैते धानको उत्पादन बढ्दै गएपछि जिल्लाका किसानहरुले चैते धान रोप्न सुरु गरेका छन् ।

कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यो वर्ष बाँकेमा ४० हेक्टर क्षेत्रफलमा धान लगाइएकोछ । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले गत वर्ष ३६ हेक्टरमा चैते धान लगाइएको जनाउँदै उत्पादन राम्रो भएपछि यसपटक बृद्धि गरेर ४० हेक्टरमा लगाइएको बताए । 

उनले फागुनमा राखेको चैते धानको बीउ तयार भएर किसानले चैत महिनाको दोस्रो हप्ताभित्र धान रोपिसकेर गोडमेल गर्नको लागि मलको माग समेत गरिसकेको बताए ।

यसवर्ष चैते धान खेतीको लागि कृषि ज्ञान केन्द्र बाँकेले धान लगाइएको जग्गामा हर्दिनाथ ३ भन्ने जातको धान जुन ११५ र १२० दिन भित्र पाक्ने धानको बिउँ, मल र विषादी कृषकलाई निःशुल्क उपलब्ध गराएको जनाएको छ।

Kanti Aarogya Hospital Nepalgunj

कृषि ज्ञान केन्द्र बाँकेका अधिकृत सेतीराम बबाल (मगर) ले दिएको जानकारी अनुसार कृषि ज्ञान केन्द्रले केही वर्षदेखि किसानलाई चैते धानमा उत्साह बढाउन निःशुल्क रूपमा सहयोग गर्दै आएको छ। कृषि ज्ञान केन्द्रले ३१ हेक्टर जमिनको लागि र केही किसानले आफ्नै लगानीमा र केही बिउ कृषि अनुसन्धान केन्द्र नार्क खजुराले दिएको बिउबाट ४० हेक्टर जमिनमा चैते धान रोपिएको छ।

बाँकेमा चैते धानका लागि पकेट क्षेत्र नतोकिए पनि यो वर्ष जिल्लाको बैजनाथ गाउँपालिकाको वडा नम्बर ८ को टिटिरिया, झिगौरा, मचरा डुडुवा गाउँपालिका वडा नम्बर ३ को सूर्य लालपुर्जा, बनकट्टि, राप्तिसोनारीको फत्तेपुर, खजुरा गाउँपालिका वडा नम्बर २ को के गाउँमा चैते धान रोपाइँ गरिसकिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। 

केन्द्रका अनुसार बाँके जिल्लाभित्र विशेष गरेर बार्हैमासे पानीको सुविधा हुने क्षेत्रमा चैते धान रोप्ने गरिएको छ। बाँके जिल्ला भरिका विभिन्न पालिकाका करिब सय जना किसानले कृषि ज्ञान केन्द्रबाट बिउ लगेर चैते धान रोपेको जनाइएको छ।