नर्सिङ्गहोम अगाडीको वर्मा अञ्जला औषधी पसल सिल


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १७, २०८१
नर्सिङ्गहोम अगाडीको वर्मा अञ्जला औषधी पसल सिल

नेपालगन्ज १७ वैशाख : नेपालगन्जमा सञ्चालित एउटा औषधी पसललाई सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जको संयुक्त अनुगमन टोलीले सोमबार उक्त पसल सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जिल्ला प्रशासन कार्यालय र औषधी व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाइएपछि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ मा सञ्चालित वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको बताए ।

सर्वसाधारणले गरेको गुनासोको आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जका फार्मेसी अधिकृत निरीक्षक दीपेन्द्रकुमार साहले जानकारी दिए । 

‘उक्त औषधी पसलका बारेमा सर्वसाधारणले गुनासो गरेका थिए,  गुनासोका आधारमा अनुगमनका क्रममा गैर व्यक्तिबाट औषधी पसल सञ्चालन गरेको पाइयो’ शाहले भने ।

Kanti Aarogya Hospital Nepalgunj

निरीक्षक साहले उक्त औषधी पसल सञ्चालन गर्न अनुमति लिएका व्यक्ति पसलमा नबसेर अनुमति प्राप्त नगरेका अर्का एकजना गैर व्यक्ति बसेर औषधी वितरण गर्नुका साथै नेपालमा दर्ता नभएका औषधी समेत सञ्चय गरेको पाइएकोले पसललाई सिल गरिएको बताए ।

आवश्यक थप अनुसन्धानका लागि पसलका सञ्चालकलाई औषधी व्यवस्था विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले जानकारी दिए ।