न्यूनतम शुल्कमै स्वीमिङ गर्न पाएपछि रंगशालाको पौडी पोखरीमा बढ्यो भीड


सेतोखरी सेतोखरी   बुधबार, वैशाख १९, २०८१
न्यूनतम शुल्कमै स्वीमिङ गर्न पाएपछि रंगशालाको पौडी पोखरीमा बढ्यो भीड

नेपालगन्ज १९ वैशाखः न्यूनतम शुल्कमै स्वीमिङ गर्न पाएपछि नेपालगन्जको रंगशाला पौडी पोखरीमा सर्वसाधरणको भीड बढ्दै गएकोछ । गर्मी बढेसँगै नेपालगन्ज रंगशालामा रहेको राष्ट्रिय खेलकुद परिषदको पौडी पोखरीमा चहल–पहल बढेको हो । विशेषगरी बिदाको दिन यहाँ धेरै भिडभाड हुन्छ । 

गर्मीले हैरान भएकाहरु दिनहुँजसो उक्त पौडी पोखरीमा डुबल्की मार्न आउन थालेकाछन् । नेपालगन्जको प्रचण्ड गर्मीबाट केही राहत दिने भएपछि यतिबेला सर्वसाधरणको भीड नै लाग्ने गरेकोछ ।

सरकारी पौडी पोखरी भएकाले होटलमा जस्तो यहाँ सर्बसाधारणले महंगो शुल्क तिर्नु पर्दैन । अन्तर्राष्ट्रिय मापदण्डमा बनेको पौडी पोखरीमा सस्तो शुल्कमा पौडी खेल्न पाइने भएकाले टाढा–टाढाबाट पनि सर्बसाधारण आउने गरेको कार्यालयले जनाएको छ । 

गर्मी छल्नका लागि रंगशालामा अचेल दैनिक रुपमा करिव १ सय ५० जनाको हाराहारीमा पौडी खेल्न आउने गरेको साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए । हरेक दिन बिहान ८ बजेदेखी बेलुका ७ बजेसम्म पौडी पोखरी सञ्चालन भइरहेको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

चालु सिजनका लागि गत चैत महिनाबाट पौडी पोखरी नियमित रुपमा सञ्चालन भएको चन्दले सुनाए । पौडी खेल्नका लागि विभिन्न बिद्यालयका बिद्यार्थीहरु भने निश्चित तालिका अनुसार आउने गरेको उनले बताए । बिद्यार्थीलाई पौडी खेलाउन केही बिद्यालयले सम्झौता गरेका छन्, भने कतिपयले सम्झौता गर्ने क्रममा छन् । 

पौडी पोखरीमा जडिट उपकरणले नियमित रुपमा पानी शुद्धिकरण गर्ने गरेको कार्यालय प्रमुख चन्दले बताए । ‘हामी कहाँ पानी फिल्टर गर्ने उपकरण जडित छन्,  पौडी पोखरी सञ्चालन गर्नका लागि २ जना प्रशिक्षकसहित ४ जना कर्मचारीलाई खटाएको छौं,’ चन्दले भने ‘पौडी पोखरी सञ्चालनमा खटिएका कर्मचारीलाई हामीले आन्तरिक स्रोतबाट तलब खुवाउँछौं ।’ 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा २०७५ सालमा पौडी पोखरी निर्माण गरिएको थियो । उक्त प्रतियोगिता सञ्चालनका क्रममा खेलाडीलाई प्रतिस्पर्धा गराउनका लागि बनाइएको पोखरीलाई अहिले ब्यवसायिक रुपले सञ्चालन गर्न थालिएको हो । 

राष्ट्रिय खेलकुद परिषदले पौडी खेल्नका लागि सर्बसाधारण नागरिकलाई (स्वीमिङ कस्टम) बाहेक प्रतिब्यक्ति २ सय रुपैयाँ, राष्ट्रिय खेलाडीलाई एक सय रुपैयाँ तथा सामुहिक रुपमा आउने बिद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुटको ब्यवस्था गरेको छ । यस्तै अन्तर्राष्ट्रिय खेलाडीबाट भने शुल्क लिइदैन ।