नेपालगन्ज २० वैशाख : आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभर मनाइँदै छ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो। यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ। यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
यसैबीच, नेपाल पत्रकार महासंघको अधिवेशनका अवसरमा सार्वजनिक वार्षिक प्रतिवेदनका अनुसार नेपालमा मे ३ सन् २०२३ देखि अप्रिल २६ सन् २०२४ प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । गतवर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हननका ५५ वटा र मे ३ सन् २०२१ देखि २०२२ को अवधिमा ७५ वटा घटनाहरू अभिलेख भएका थिए ।
६२ वटा घटनामा १६८ जना पत्रकार र २ सञ्चारसंस्था गरी १७० पीडित भएका छन् । नेपाल पत्रकार महासंघ, सञ्चार अनुगमन इकाइमा अभिलेख भएअनुसार यी घटनाहरूमा यो एक वर्षको अवधिमा पत्रकार गिरफ्तारका २ घटना भएका छन् ।
कब्जा तथा अवरोधका ३, पत्रकारमाथि दुर्व्यवहार तथा धम्कीका २९, आक्रमणका १४ वटा घटना भएका छन् । यस्तै पेशागत असुरक्षाका १४ वटा घटना भएका छन् । यसबाट ९३ जना पत्रकार र ८ सञ्चारसंस्था गरी १०१ पीडित भएका छन् । यस्तै लैङ्गिक हिंसाका २, विस्थापन १ र पेशागत असुरक्षाका ५५ वटा घटना भएका छन् ।