नेपालगन्ज २१ वैशाख : बाँकेमा चालू आर्थिक वर्षको १० महिनामै १२ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार चालू आर्थिक वर्षको वैशाख दोस्रो सतासम्म मृत्यु भएका १२ जना सुत्केरीको मृत्यु हुँदा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।
नेपालगन्जलाई मेडिकल सिटी भनिए पनि यहीँ नै सुत्केरीको मृत्यु धेरै भएको तथ्यांकले देखाउँछ । यस्तो डरलाग्दो तथ्यांक बाहिरिएसंगै मातृ मृत्युदरको उच्च जोखिममा नेपालगन्जले स्थान ओगट्न सफल भएकोछ ।
नेपालगन्ज क्षेत्रभित्र रहेका घर नजिकै सुविधासम्पन्न अस्पताल र विशेषज्ञ चिकित्सक भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएपछि सुत्केरीको मृत्यु भइरहेको हो ।
परिवार योजना, सुरक्षित मातृत्व र स्वास्थ्य पत्रकारिता सम्बन्धी नेपालगन्जमा गरिएको उक्त अन्तरक्रिया यो डरलाग्दो तथ्यांक बाहिरिएको हो । योसंगै बाँकेको नेपालगन्ज उपमहानगरपालिका सुत्केरी मृत्युदरमा पहिलो स्थानमा रहेकोछ ।
बाँकेको आठ पालिकामध्ये सबैभन्दा बढि ६ जना नेपालगन्ज उपमहानगरपालिकामा, नरैनापुर र खजुरा गाउँपालिकामा ४–४ जना, राप्तीसोनारी गाउँपालिकामा २ जना र कोहलपुर नगरपालिका तथा बैजनाथ, डुडुवा र जानकी गाउँपालिकामा १–१ जना सुत्केरी आमाको मृत्यु भएको तथ्यांक छ ।
यस्तै गतवर्ष बाँकेमा २० जना सुत्केरीको मृत्यु हुँदा ६ जना नेपालगन्जकै रहेका थिए । सहरी क्षेत्र भएपनि नेपालगन्जमै ठूलो संख्यामा घरमै सुत्केरी गराउने परिपाटी भएका कारण यसको दर बढ्न गएको हो ।
स्वास्थ्य कार्यालय बाँकेकी फोकल पर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनु अघि मृत्यु हुने गरेकोमा अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्मको अवधिलाई सुत्केरी भनिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनुपर्छ । तर, बच्चा जन्माएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु बढाइरहेको श्रेष्ठले बताइन् ।
पहिलोपटक गर्भवती भएदेखि सुत्केरी हुनुअघिसम्म गरिने आठ चरणको गर्भ जाँच गराउनेको संख्या पनि बाँकेमा डरलाग्दोछ । त्यसमा पनि नेपालगन्ज उपमहानगरपालिका भित्रैका गर्भवती महिलाहरु यो सुविधा नलिने गरेका हुन् । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौं पटकमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको स्वास्थ्य कार्यालय बाँकेको तथ्यांकले देखाएकोछ ।
हेल्थ टुडे मिडियाको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाँके, नेपाल परिवार नियोजन संघ बाँके र केयर नेपालसँगको सहकार्यमा गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा हेल्थ टुडे मिडियाका सम्पादक पदमराज जोशीले सुरक्षित मातृत्व लगायत स्वास्थ्य पत्रकारिताका विषयमा सञ्चार माध्यम तथा सञ्चारकर्मीले उठाउनुपर्ने सवालका विषय लगायत बारे प्रस्तुतीकरण गरेका थिए ।
यस्तै जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँके सुरक्षित मातृत्व फोकल पर्सन विष्णु श्रेष्ठ, नेपाल परिवार नियोजन बाँकेका कार्यालय प्रमुख रश्मी श्रेष्ठ र केयर नेपाल (युएसएआईडी) एएचआर कार्यक्रमका संयोजक केशवनरसिंह राणाले मातृ तथा शिशु मृत्युदरको अवस्था, सुरक्षित मातृत्व, परिवार योजनाका क्षेत्रमा गरेको कामका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाही, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष एवम् वरिष्ठ पत्रकार निरज गौतम र पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगीले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा बाँकेमा क्रियाशिल दुई दर्जनबढी पत्रकारको उपस्थिती रहेको थियो ।