मेडिकल स्टोर इन्चार्ज *नेपाली भन्छन् ‘केमिकल आइसक्यो’, मेसु डा. रायमाझी भन्छन् ‘केमिकल आएको छैन’
नेपालगन्ज २१ वैशाख : पश्चिम नेपालकै रेफरल अस्पतालका रुपमा रहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा पछिल्लो पाँच दिनदेखि थाइराइड जाँच बन्द भएकोछ । थाइराइड जाँच गर्ने रियजेन्ट (केमिकल) सकिएपछि थाइराइडका विरामी महंगो शूल्क तिरेर निजी प्रयोगशाला धाउन बाध्य भएका छन् ।
भेरी अस्पताल प्रशासन र मेडिकल स्टोरको चरम लापरबाहीका कारण यतिबेला भेरी अस्पताल धाउने थाइराडका विरामी निजी प्रयोगशाला धाउने गरेका हुन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा अस्पताल प्रशासन र मेडिकल स्टोरले देखाएको चरम लापरबाहीका कारण नियमित जाँच गराउन आउने थाइराइडका विरामी समेत मर्कामा परेका छन् ।
स्वास्थ्य समस्या लिएर भेरी अस्पताल पुग्ने विरामीलाई चिकित्सकले थाइराइड परीक्षण गराउन भनेपछि थाइराइड जाँच ‘केमिकल’ नभएको भन्दै बील काउन्टरबाटै उनीहरु फर्किने गरेका छन् । पर्चा लिएर बील काउण्टरमा पुग्दा थाइराइड चेक गर्ने ‘केमिकल’ नभएको बताउँदै बील काट्न नमानेपछि यस्तो रहस्य बाहिरिएको हो । ‘चिकित्सकले थाइराइड चेक गर्न भन्नुभयो । पर्चा बोकेर बील काट्न काउण्टरमा पुग्दा थाइराइड चेक गर्ने ‘केमिकल’ छैन बाहिर गराउनुहोला भन्नुभयो’ भेरी अस्पताल नेपालगन्ज पुगेका सुर्खेत मेहलकुनाका धिरबहादुर ओलीले भने ।
उमेरले ४५ टेकेका ओलीले भने ‘खलखलती पसिना आउने, सुतेर उठ्नेबेला आलस्य लाग्ने, एक्लोपनको महसुस हुने, काम गर्दागर्दै अल्छी लाग्ने जस्ता लक्षण देखा परेपछि भेरीमा आए । चिकित्सकले थाइराइडको शंका गर्नुभयो ।’ उनले अगाडी थपे–‘थाइराड जाँचका लागि सिफारिस भएपछि पर्चा नै काट्न मानेन्, किन यस्तो भयो भन्दा थाइराइड जाँच्ने केमिकल छैन बाहिर गर्नुहोला भने ।’
भेरीमा पछिल्लो पाँच दिनदेखि थाइराइड जाँचका लागि प्रयोग हुने केमिकल नहुनुमा भेरी अस्पताल मेडिकल स्टोरको ठूलो लापरबाही देखिएको नाम नछाप्ने शर्तमा अस्पतालका एक कर्मचारीले बताए । उनले भने–‘भेरी अस्पतालको मेडिकल स्टोर इन्चार्ज दिनेश नेपाली र अविनाश गुप्ताकै कारण थाइराइड जाँच्ने केमिकल अभाव भएको हो । उनीहरुले आफू अनुकुल काम गर्दा यस्तो समस्या देखिएको हो ।’
अस्पतालभित्र आवश्यक पर्ने औषधि, विभिन्न रोग जाँचका केमिकल लगायतका सामानको सहज र सरल रुपमा समयमै नियमित उपलब्धता गराउने, त्यसको व्यवस्थापन गर्ने लगायतको जिम्मेवारी मेडिकल स्टोरको हो । तर, मेडिकल स्टोरका इन्चार्ज नेपाली र गुप्ताले आफुअनुकुल काम गर्दा यस्तो अवस्था सिर्जना भएको हो ।
‘उनीहरुकै अगुवाईमा अस्पतालमा चाहिने ती सामाग्रीहरु विभिन्न सप्लार्यसबाट व्यवस्थापन हुने गर्छ । जहाँ लाईन मिलाएर ठूलै आर्थिक कमिशनको चलखेल हुन्छ’ अर्का एक कर्मचारीले भने–‘विभिन्न सप्लायर्ससंगको सेटिङ्गमा च्यानेल मिलाएर कमिशनको मोलमोलाई हुने भएपछि राम्रो रकमकै खेलले यस्तो अवस्था भएको हो । यो एकप्रकारको सिण्डिकेट नै हो । यसलाई समयमै तोडिएन भने सर्वसाधरणले सर्वसुलभ स्वास्थ्य सेवा पाउनेछैनन् ।’
भेरी अस्पतालमा दिनहुँ एक सय पचास देखि दुई सय जनाको थाइराइड जाँच हुने गर्छ । भेरी अस्पतालमा थाइराइड जाँचेको एक हजार रुपैया शुल्क बुझाउनुपर्छ । तर, केमिकल नभएपछि विरामी निजी प्रयोगशाला धाउने गरेका हुन् ।
भेरी अस्पतालका प्याथोलोजिष्ट डाक्टर सविता विश्वकर्माका अनुसार थाइराइड जाँचका लागि आवश्यक पर्ने केमिकल नभएपछि विहीबार र शुक्रबार काम रोकियो । तर, केमिकल अभावमा पछिल्लो पाँच दिनदेखि थाइराइड जाँच हुन नसकेको हो ।
उनले भनिन्–‘विरामीको सेवाका लागि हामी बसेका हौं । थाइराइड जाँचका लागि आवश्यक पर्ने केमिकल सकिएको बारे अस्पताल प्रशासन, मेडिकल स्टोरमा जानकारी समेत गराईसकेका छौं ।’ उनले भनिन्–‘हामीलाई चाहिने महिनाभरीका सम्पूर्ण सामानको माग फारम भरेर पूर्व जानकारी गराउँछौं । सकिन लाग्दा पनि जानकारी गराउँछौँ । तर, समयमै उपलब्धता भएन जसका कारण केमिकल अभावमा थाइराइड जाँचमा समस्या भएको छ । केमिकल माग गरेका छौं तर, आएको छैन । आईतबारसम्म आउला की ।’
भेरी अस्पताल ल्याब स्रोतका अनुसार थाइराइड जाँच्ने केमिकल जस्तै अन्य स्वास्थ्य जाँचका सामान समेत सकिन लागेकाले उक्त सामान मेडिकल स्टोर अस्पताल प्रशासनले उपलब्धता गराउनेतर्फ कुनै चासो राखेको छैन । स्रोतका अनुसार ४–५ दिनमै अन्य जाँच समेत बन्द हुने अवस्था नआउला भन्न सकिन्न ।
थाइराइड जाँचका लागि भेरी अस्पतालमा तीन वटा मसिन छन् । जसमध्ये एउटा मेसिनलाई ‘फुल फेज’मा चलाइएको छ । भने एउटा धेरै टेस्ट गर्न नमिल्ने भएर चलाइएको छैन । भने अर्कोलाई ‘फुल फेज’मा चलाइएको छैन ।
भेरी अस्पतालले नेपालगन्जको देउती सर्जिकल र हस्पिटेक इन्टरप्राइजेज प्राली काठमाण्डौका सप्लार्यसबाट सामान मगाउने गर्छ । तर, सप्लार्यस स्रोतका अनुसार भेरी अस्पताल लेखा शाखा र मेडिकल स्टोरबाट भएको बदमासीका कारण सामान उपलब्ध गराउन ढिलासुस्ती भएको हो ।
यता भेरी अस्पतालका मेडिकल स्टोर इन्चार्ज दिनेश नेपालीले थाइराइड चेक हुने केमिकल सकिए लगत्तै मगाएको र उक्त सामान अस्पताल आइसकेको दावि गरे । उनले भने–‘थाइराइड जाँचका लागि आवश्यक पर्ने केमिकल आइसक्यो । अस्पताल प्रशासन र ल्याबमा जानकारी गराएका छौं तर, लिन किन आउनुभएन थाहा भएन ।’
दैनिक प्रयोग हुने यस्ता सामान खरिद गरि स्टोर गर्नुपर्नेमा मेडिकल स्टोरले त्यसो किन नगरेको भन्ने जिज्ञासामा विश्वकर्माले भने–‘सप्लायर्ससँग सामान नभएर यस्तो समस्या भएको हो । जानी जानी रोकेको होइन् । आईतबारदेखि जाँच हुन्छ ।’
यता भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर पवनजङ्ग रायमाझीले थाइराइड जाँच गर्ने केमिकल सकिएर जाँच रोकियो स्वीकारे । उनले भने–‘थाइराइड जाँच हुने ‘रियजेन्ट’ केमिकल सकिएको खबर म कहाँ आएकोछ । केमिकल अभावमा जाँच प्रभावित बनेको हो ।’
थाइराइड जाँचका लागि आवश्यक पर्ने केमिकल सकिएको खबर पाए लगत्तै मगाउन निर्देशन दिएको बताउँदै मेसु डाक्टर रायमाझीले भने–‘बाहिरबाट मगाउँदा महंगो पर्ने हुँदा सप्लायर्समार्फत मगाउन भनेको छु । हामीलाई सामान सप्लाई गर्ने नेपालगन्जको सप्लायर्स(देउती सर्जिकल)संग सकिएको रहेछ । छिटो उपलब्ध गराउन भनेका छौं ।’
मेडिकल स्टोरले यस विषयमा ध्यान दिएन । स्टोर भएको सामान सकिन लागेको छ भने मगाउनु पर्ने थियो । अहिले जनताले सास्ती भोग्नुपरेकोछ । ‘थाइराइड जाँचका लागि प्रयोग हुने केमिकल अहिले(शुक्रबार बेलुका)सम्म अस्पतालमा आएको छैन् । आएको भए मलाई जानकारी हुनेथियो’ मेसु डा. रायमाझीले भने ।
*भूलबस फरक पर्न गएकोमा सच्चाइएकोछ । -सम्पादक