सडकबाटै उखुको जुस बेचेर मासिक एक लाख बढी आम्दानी


सेतोखरी सेतोखरी   आइतबार, वैशाख २३, २०८१
सडकबाटै उखुको जुस बेचेर मासिक एक लाख बढी आम्दानी

कोहलपुरको एनटिभी रोडमा उखुको जुस बेच्दै लक्की र राजु । तस्विर: टार्जन ओली/सेतोखरी

कोहलपुर २३ वैशाख : भारत नानपारा घर भएका राजु खान र लक्की खानले उखुको जुस बेचेरै मनग्य आम्दानी गर्न सफल भएकाछन् । कोहलपुर एनटिभी रोडमा कोठा भाडा लिएर बसेका दुई दाजुभाईले उखुको जुस बेचेरै मासिक एक लाख बढी आम्दानी गर्न सफल भएका हुन् ।  

सडकबाटै उखुको जुस बेचेर उनीहरुले राम्रै आम्दानी गरिरहेकाछन् । मौसमी व्यापार गर्न उनीहरु हरेक वर्ष भारत नानपाराबाट नेपाल आउने गर्छन् । सानो लगानीबाट शुरु गरेको यो व्यापारबाट दिनको दुई हजार देखि ४ हजारसम्म कमाइ हुने गरेको उनीहरु बताउँछन् ।

गर्मीयाममा उखुको जुसको व्यापार बढ्ने गर्छ । उनीहरु विगत दुई वर्षदेखि बाँकेको कोहलपुरमा जुसको व्यापार गरिरहेका छन् । दाजुभाईले उखुको जुस बेचेरै परिवार धानेको बताउँछन् । ‘कम मेहनतमै हजारौं कमाइ हुन्छ’–लक्की खान भन्छन् । गर्मीको सिजनमा उखुको जुस बेचे पनि अन्य समयमा भने विभिन्न स्थानमा लाग्ने मेला महोत्सवमा अरु व्यवसाय सञ्चालन गर्ने गरेको उनी बताउँछन् । 

गर्मीको समयमा जुस बेच्दा व्यापारीको व्यापार बढेको छ भने सर्वसाधारणलाई जुस पिउन पाउँदा शितलता मिलेको छ । यतिबेला कोहलपुरमा मात्र नभई नेपालगन्ज र आसपासका सडक छेउमा पनि जुस बेच्न व्यापारीहरूलाई भ्याई नभ्याई छ । गर्मी मौसम शुरु भएसँगै उखुको जुसको व्यापार यतिखेर बढिरहेको उनीहरुको भनाईछ ।

Kanti Aarogya Hospital Nepalgunj

राजुका अनुसार उखुको जुस बेचेरै महिनाको एक लाख देखि एक लाख ३० हजार सम्म कमाई हुने गरेकोछ । उखुको जुसका लागि उनीहरुले भने नेपाल कै उखु प्रयोग गर्ने गरेकाछन् । विभिन्न कामको लागि बजारतिर निस्कने मानिसहरू उखुको जुसतर्फ बढी आकर्षित हुने गरेका छन् । बिहानैदेखि व्यस्त देखिने उखु जुस ठेलाहरूमा राम्रै व्यापार हुने गरेको छ । 

अहिले बजारमा धेरै युवा व्यवसायीहरूले उखुको जुसको व्यापार गरिरहेका छन् । उखुको जुसबाट गर्मी मौसममा रामै्र कारोबार हुने गरेको छ । उखुको जुसको राम्रै व्यापार हुने भएपछि यसप्रति मौसमी व्यापार गर्नेहरुको आकर्षण बढ्दै गएकोछ ।

उखुको जुस स्वास्थ्यका लागि पनि निकै फाइदाजनक रहेको विज्ञहरूको भनाइ छ । उखुको जुसको व्यापार गरिरहेकाहरूलाई रोजगारी मिलेको छ नै यसले मनग्य आम्दानी समेत हुने गरेकोछ ।