विद्यार्थीको पोशाकमा कमिसन : रुपैडिहा किन्न पठाउँदै बोर्डिङ स्कुल


सेतोखरी सेतोखरी   आइतबार, वैशाख २३, २०८१
विद्यार्थीको पोशाकमा कमिसन : रुपैडिहा किन्न पठाउँदै बोर्डिङ स्कुल

नेपालगन्ज २३ वैशाख :  नेपालगन्ज उपमहानगरपालिकाका बोर्डिङ स्कुलले आफूखुशी शुल्क लिएको घटना बाहिरिएपछि उनीहरुले ‘लाईन’ मिलाएर पोशाकमै कमिसन खाने गरेको तथ्य खुलेकोछ । 

नेपालगन्जका अधिकांश बोर्डिङ स्कुलले पोशाक किन्न अभिभावकलाई भारतको रुपैडिहा जान बाध्य पारेका छन् । लाखौं कमिसनको चक्करमा स्कुलले अभिभावकलाई सीमापारी पठाउने गरेका हुन् । बिद्यार्थीलाई स्कुलको पोशाक उपलब्ध गराउन नेपालगन्जमा करिब आधा दर्जन पसल सञ्चालनमा छन् । 

यहाँका नाम चलेका तथा पहुँचवाला बोर्डिङ स्कुलले भारतको रुपैडिहामा रहेको ‘अग्रवाल डे«सेस’सँग ‘लाईन’ मिलाएर बिद्यार्थीका पोशाक किन्न सीमापारी पठाउने गरेको पाइएको हो । ‘नेपालगन्जमै ड्रेस तयार गर्ने तमाम गार्मेन्ट र पसलहरु छन्, तर स्कुलले हामीलाई अग्रवालको भिजिटिङ कार्ड दिएर रुपैडिहा पठाउँछन्,’ अभिभावक बताउँछन् ।

यो पनि पढ्नुहोस् आफ्नै ‘मापदण्ड’ लत्याउँदै उपमहानगरपालिका, मनपरी शुल्क उठाउने स्कुललाई कारबाही भएन

Kanti Aarogya Hospital Nepalgunj

अभिभावकलाई सीमापारी पठाउने त्यस्ता स्कुललाई अहिलेसम्म कतै कारबाही भएको छैन । विशेषतः नेपालगन्ज उपमहानगरपालिका हातमा हात राखेर बसेकोछ । स्कुलको आतंक रोक्न न सरकार जागेको छ, न त नेपालगन्ज उद्योग वाणिज्य संघ चुइकक बोलेको छ । स्कुलले अभिभावकलाई त्यसरी सीमापारी पठाउँदा दैनिक लाखौ रुपैयाँ भन्सार राजश्व गुमिरहेको छ, भने वर्षेनी करोडौं नेपाली रुपैयाँ विदेशमा गइरहेको छ ।

सरकारलाई कर तिरेर सञ्चालित यहाँका पसललाई भने टिक्नै मुस्किल परेको छ । नेपालगन्जस्थित इनोभेटिभ युनिफर्मका सञ्चालक रेणु भण्डारीले पोशाक बिक्री हुने सिजन चलेपनि खासै ब्यापार नभएको बताइन् । ‘सिजन चलेपनि ब्यापार त्यति सन्तोषजनक नै छैन,’ उनले भनिन् । 

यो पनि पढ्नुहोस् नेपालगन्जका बोर्डिङ स्कुलले मनपरी रुपमा शुल्क उठाउँदै, उपमहानगरपालिका मौन

यस्तै आर्दश युनिफर्मका सञ्चालक चन्द्र श्रेष्ठले आफुकहाँ बिद्यार्थी पोशाकको काम छिटपुट रुपमा मात्रै आउने गरेको बताए । ‘प्रायः स्कुलले पोशाक किन्न रुपैडिहा पठाउँछन्, हामी कहाँ आउने भनेको त फाट्टफुट्ट काम मात्रै हो,’ उनले बताए । कुनै बेला आफुले करिव १२ वटा स्कुलका हजारौं बिद्यार्थीलाई पोशाक पुर्याउने गरेकोमा अहिले सबैले लिन छाडेको ब्यवसायी श्रेष्ठले दुखि हुँदै सुनाए । 

‘अभिभावकले पोशाकको क्वालिटी हेर्दैनन्, नेपालगन्जको भन्दा थोरै सस्तो मूल्यमा दिए जस्तो गरेर अग्रवाल डे«सेसले अभिभावकलाई मुर्ख बनाईरहेको छ,’ उनले भने ‘अग्रवालले नेपालगन्जका स्कुललाई कमिसन दिइरहेको छ, हामी स्कुललाई कमिसन दिएर काम गर्न सक्दैनौं, किनकी हाम्रो लागत खर्च बढी आउँछ ।’ 

यता बागेश्वरी युनिफर्मकी सञ्चालक माया ओलीले कतिपय स्कुलले आफुकहाँ अर्डर लिएर पनि पोशाक किन्न रुपैडिहा पठाउने गरेको दुखेसो पोखिन् । ‘स्कुलले अर्डर लिन्छ, बिद्यार्थी तपाई कहाँ पठाउँछु भन्छ, मुखको भरमा हामीले लाखौं रुपैयाँ लगानी गरेर सम्बन्धित स्कुलको पोशाक खरिद गर्छौ, हामीसँग स्कुल सञ्चालकले खुलेर कुरा पनि गर्न सक्दैनन्, त्यसपछि बिद्यार्थी र अभिभावकलाई उनीहरु रुपैडिहा पठाउँछन्,’ उनले भनिन् । 

यो पनि पढ्नुहोस् नेपालगन्जमा बोर्डिङ स्कुलद्वारा मनपरी शुल्क असुल्ने काम रोकिएन, समितिकै सदस्य संलग्न

अर्डर गरेको पोशाक बिक्री नहुँदा धेरै पटक आफ्नो लगानी डुबेको मायाले सुनाइन् ।  बिद्यार्थी तथा अभिभावकलाई पोशाक किन्न रुपैडिहा पठाउनेमा नेपालगन्जका ठुला र नाम चलेका बोर्डिङ स्कुल धेरै छन् । अभिभावकलाई अग्रवालको भिजिटिङ कार्ड नै थमाएर मोर्डन पब्लिक, सोफिया, वेष्टजोन, होप इन्टरनेशनल एकेडेमी, ब्रिटिस, गोल्डेन एबिसी, सेन्थोमस, रेडहिल, होलिल्याण्ड लगायत स्कुलले रुपैडिहा पठाइरहेको विश्वस्त स्रोतले जनाएको छ । 

यस्तै आर्दश, ब्राइटल्याण्ड, युनाइटेड, सनविम, एन्जल्स लगायत अन्य स्कुलका केही अभिभावक तथा बिद्यार्थी पनि पोशाक किन्न छिटपुट रुपमा रुपैडिहा पुग्ने गरेको पाइएको छ । उनीहरुलाई स्कुलले सिधैं नपठाएपनि प्रिन्सिपल, डिसिपिलिन इन्चार्ज लगायत प्रभाव जमाउने कर्मचारीलाई प्रलोभनमा पारी अग्रवालले आफुतिर आर्कषण गरेको बताइन्छ । अग्रवालले नेपालगन्जका स्कुलमै पुगेर सञ्चालकलाई पोशाक वापतको कमिसन बुझाउने गरेको स्रोतको दावी छ । 

भविष्यका कर्णधार भनिने बालबालिकालाई नेपालगन्जका केही स्कुलले सानै उमेरबाट राजश्व छल्न र तस्करी गर्न सिकाइरहेका छन् । रुपैडिहाबाट त्यसरी अभिभावक र बिद्यार्थीले ल्याउने पोशाक तस्करी भएर आउँदा सरकारलाई पनि राजश्व घाटा भइरहेको छ । नेपालगन्जका स्कुलमा ‘अग्रवाल पोशाकको यतिसम्म ‘दवदवा’ छ कि प्रत्येक दिन कुनै न कुनै स्कुलमा कमिसनको डिल गर्न प्रतिनिधि पुग्छन् । कमिसनको डिल हरेक वर्षको वार्षिक परिक्षा सुरु नहुँदै यहाँका स्कुलमा सुरु हुन्छ, त्यसपछि एक वर्षसम्म चलिरहन्छ । 

यो पनि पढ्नुहोस् नेपालगन्जका विद्यालयहरुको वर्गीकरणसंगै तोकियो शुल्क

कतिपय स्कुलले भने अग्रवालका प्रतिनिधिलाई आफ्नो गेटभित्र प्रवेश गर्न दिदैनन् । ‘अग्रवालले एउटा स्कुललाई दिनमा दश पटक फोन गर्छ, यतिसम्म की स्कुलमै आएर उसले डे«सबाट कति प्रतिशत कमिसन लिनुहुन्छ ? भन्दै पैसाको डिल गर्न खोज्छ,’ एक स्कुलका प्रिन्सिपलले भने ‘हामी कहाँ आउँछु भनेर धेरै पटक फोन गर्यो, मैले गेटबाट भित्र छिर्न दिइन, धेरै पटक गाली खाएपछि पछिल्लो समयमा फोन गर्न छाडेको छ ।’