बाँकेमा बढ्दै आर्थिक अपराधका घटना


सेतोखरी सेतोखरी   आइतबार, वैशाख ३०, २०८१
बाँकेमा बढ्दै आर्थिक अपराधका घटना

नेपालगन्ज ३० वैशाख : पछिल्ला दिन बाँकेमा आर्थिक अपराधका घटना बढ्दै गएकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँकेमा पछिल्ला दिन आर्थिक अपराधका घटना बढ्दै गएको हो । आर्थिक अपराधमा पनि बैकिङ कसुरका मुद्दा अधिक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी रेकर्डले बताउँछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक अपराधका घटनामा बैंकिङ कसुरका मात्रै २०८ वटा मुद्दा परेका छन् । त्यस्तै ठगी सम्बन्धि १८ र जुवा सम्बन्धि तीनवटा उजुरी परेका छन् ।

बैंकिङ कसुरलगायत आर्थिक अपराधका मुद्दाहरुको संख्या बढेको डिएसपी डाँगीले बताए । उनी भन्छन्, ‘लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधानको उपाय नदेखेपछि पीडित उजुरी बोकेर प्रहरीकहाँ आउँछन् ।’

उनले अगाडी थपे–‘त्यसरी आउने पीडितले उठाएका विषयप्रति अत्यन्त संवेदनशील र गम्भीर भएर अनुुन्धान गरिरहेका छौं । न्यायको अनुभूति हुनेगरि उहाँहरु घर फर्किनु भएको छ ।’ डिएसपी डाँगीले बैंकिङ कसुरको मुद्दा बढ्नुमा पछिल्लो समय उत्पन्न आर्थिक संकटको चिरित्रले देखाएको हुनसक्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके खजुरा गाउँपालिका–३ का रामबहादुर केसीले नेपालगन्जको एउटा व्यापारिक प्रतिष्ठानबाट सरिया, सिमेन्ट ल्याएर गाउँमा सप्लाई गर्थे । पाँच वर्षसम्म कारोबार राम्रै चलेको थियो । पछिल्लो एक वर्षमा सामान लगेकाले पैसा नदिएपछि उनले जुन ठाउँबाट सामान ल्याउथे त्यहाँ पैसा बुझाउन सकेनन् । विवाद बढ्दै जाँदा दश लाखको चेक दिएका केसीविरुद्ध त्यही चेकका आधारमा व्यवसायीले बैंकिङ कसुरमा उजुरी दर्ता गरेका छन् । उजुरी गर्ने व्यवसायी आफ्नो पैसा फसेकाले पाउनुपर्ने भन्दै हैरानीमा देखिन्छन्, जुन जायज छ ।

उता केसी पैसा आउने बाटो कतै नभएकाले तिर्नै नसक्ने अवस्था सिर्जना भएको भन्दै रोइकराई गरिरहन्छन् । प्रहरीमा यस्ता दृश्य देखिनु आजभोलि सामान्य भइसकेका छन् । आर्थिक संकटका कारण लेनदेन नमिलेका कयौं घटना त अझ प्रहरीसम्म पुग्न सकेका छैनन् । त्यो पनि जोड्ने हो भने आर्थिक अपराध भुसको आगोझैं घरघरमा फैलिसकेको मान्न सकिने प्रहरीका अनुसन्धान अधिकृतहरु बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसी डाँगी भन्छन्, ‘हाम्रो काम त उजुरीका सम्बन्धमा अनुसन्धान गर्ने हो । तर, आर्थिक अपराधका मुद्दाका चाप जसरी बढिरहेका छन् त्यसको कारण खोजी जो कोहिले गर्न भने सक्छन् ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली आर्थिक संकटले आर्थिक अपराध बढ्दै गएको बताउँछन् । तर, आर्थिक अपराध बढ्नुको कारण आर्थिक संकट मात्रै हो की होइन भनेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

संघका महासचिव ओली भन्छन्, ‘आर्थिक संकटले समस्या निम्त्याएको छ तर, सबै समस्याको कारण आर्थिक संकट मात्रै हो की होइन गम्भीरतापूर्वक हेर्नुपर्छ ।’ आर्थिक संकटले निम्त्याएका ‘साइड इफेक्ट’ रोक्न सरकारले स्पष्ट नीति ल्याउनुपर्ने ओलीको सुझाव छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ठगीसम्बन्धी ३८ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/०७९ मा यस्ता उजुरी २४ वटा र २०७७/०७८ मा जम्मा १६ वटा उजुरी परेका थिए । डिएसपी डाँगीका अनुसार समग्रमा आर्थिक वर्ष २०७९/०८० मा आर्थिक अपराधसम्बन्धी ३८ वटा उजुरी परेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा ठगीसम्बन्धी तीन सय ५१ वटा उजुरी परेका थिए । जबकी आर्थिक वर्ष २०७८/०७९ मा यस्ता उजुरी एक सय १० वटा र २०७७/०७८ मा जम्मा ३८ वटा उजुरी परेका थिए ।

बाँकेमा आर्थिक संकटका कारण लेनदेन नमिलेका कयौं घटना प्रहरीसम्म पुग्न सकेका छैनन् । जसका कारण आर्थिक अपराध पनि भइरहेकाछन् । आर्थिक अपराध भुसको आगोझैं घरघरमा फैलिसकेकाले समयमा यस विषयमा गम्भीरतापूर्वक लाग्नुपर्ने प्रहरीका अनुसन्धान अधिकृतहरु नै बताउँछन् ।