नेपालगन्जका ४ वटा उद्योगलाई कारबाही गर्दा २ उद्योग सिल गरियो


सेतोखरी सेतोखरी   सोमबार, वैशाख ३१, २०८१
नेपालगन्जका ४ वटा उद्योगलाई कारबाही गर्दा २ उद्योग सिल गरियो

नेपालगन्ज ३१ वैशाख: नेपालगन्ज उपमहानगरपालिका भित्रका ४ वटा उद्योगलाई कारबाही गर्दा २ वटा उद्योगलाई सिल गरिएकोछ । नेपालगन्जका विभिन्न उद्योग तथा फर्म व्यवसायको छड्के अनुगमन गर्दा कैफियत पाइएपछि उक्त उद्योग तथा फर्मलाई कारबाही गरिएको हो । 

अनुगमनका क्रममा कैफियत पाइएका नेपालगन्जका दुई वटा उद्योग सिल गरिएको छ भने विभिन्न चार वटा उद्योगलाई कारबाही गरी एक लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा सरोकारवाला निकायको सहभागितामा आईतबार नेपालगन्जका विभिन्न उद्योग तथा व्यवसायमा स्थलगत अनुगमन गरेर कैफियत पाइएका उद्योग तथा व्यवसायलाई कारबाही स्वरुप जरिवानासमेत गरिएको बाँके प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले नेपालगन्जका ६ वटा उद्योग तथा व्यवसायमा स्थलगत अनुगमन गर्दा चार वटा उद्योग तथा व्यवसायले उपभोक्ताको हित विपरीत कार्य गरेको पाइएकाले कारबाही गरिएको जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

निमित्त प्रजिअ माझीका अनुसार नेपालगन्जको कारकाँदो क्षेत्रमा सञ्चालनमा रहेको जय बागेश्वरी ड्रिकिङ्ग वाटर उद्योगले व्यवस्थित रुपले मापदण्डअनुसार उद्योग सञ्चालन नगरेको पाइएकाले तत्काल कारबाही स्वरुप २० हजार रुपैयाँ जरिवाना गरिनुका साथै उद्योग सिल गरिएको छ । उक्त उद्योगबाट प्रयोग नहुने अवस्थामा रहेका २३ थान पानीका जारसमेत नष्ट गरिएको छ ।

त्यसै गरी नेपालगन्जको खजुरा रोड क्षेत्रमा सञ्चालनमा रहेको जय श्रीराम आइस उद्योगले बिल बिजक बिना कारोबार गरेको पाइएको हुँदा उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गरिएको र उद्योगमा मापदण्डअनुसार सरसफाइ नगरेसम्मका लागि उद्योग सञ्चालनमा रोक लगाइएको निमित्त प्रजिअ माझीले जानकारी दिए ।

उक्त क्षेत्रमै सञ्चालनमा रहेको शान्ति खाद्य उद्योगले सम्बन्धित निकायबाट उद्योग सञ्चालन इजाजत नलिई उद्योग सञ्चालन गरेको पाइएकाले ५० हजार रुपयाँ जरिवाना गरिएको र खाद्य अनुज्ञापत्र लिएर मात्र उद्योग सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए ।

खजुरारोड क्षेत्रमै रहेको शाह डिष्ट्रिब्युटर्स एण्ड सप्लायर्सले मूल्य सूची नराखी कारोबार गरेको पाइएकाले तत्काल कारबाही स्वरुप एक लाख रुपैयाँ जरिवाना गरिएको निमित्त प्रजिअ माझीले जानकारी दिए । अनुगमन गरिएका अन्य दुई वटा खाद्य उद्योगको अवस्था सामान्य पाइएको उनले जानकारी दिए । बाँके प्रशासनले जिल्लाका विभिन्न क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ ।