नेपालगन्ज ३१ वैशाख : डाँका चोरीका घटनामा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई बाँके प्रहरीले पक्राउ गरेकोछ ।
गत चैत २६ गते बाँकेको जानकी गाउँपालिका वडा नम्बर– ४ जानकी नगर स्थित दुर्गा कुमारी दमाईको घरमा अन्दाजी राती करिब १२ बजे डाँचका चोरी भएको थियो ।
दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनि तत्काल नामथर वतन नखुलेका ७÷८ जना मानिसहरुले ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसी बन्दुक तथा धारिलो हतियार देखाई घरमा रहेका ३ जना परिवारलाई कपडाले मुख छोपी हात बाँधेर घरभित्र रहेका सुनका गरगहना, मोबाईलहरु, पसलमा रहेका सामानहरु र नगद समेत लुटपाट गरि भागेका व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।
बाँके प्रहरीले बिशेष प्रहरी टोली परिचालन गरि विस्तृत अनुसन्धान पश्चात ती दुई भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको हो ।
यसरी पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला बहराईच थाना खैरीघाट नमावङगला बस्ने ५५ वर्षिय मनेश्वर गोडिया र सोही स्थान बस्ने ५२ वर्षीय कुलेराज कुर्मी रहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।
पक्राउ परेका दुवै भारतीय नागरिकलाई जिल्ला अदालत बाँकेबाट ३ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएकोछ ।
सो घटनामा संलग्न थप दुई जना संदिग्ध व्यक्तिहरुको पहिचान भई खोजतलास भइरहेको डिएसपी डाँगीले बताए ।
उक्त घटना भन्दा अघि घटेका यस्तै प्रकृतिका डाँका चोरीको घटनामा समे यीनै व्यक्तिहरुको संलग्नता भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।