आगामी ४ दिनसम्म तराईमा ‘लू’ चल्ने सम्भावना


सेतोखरी सेतोखरी   बिहीबार, जेठ ३, २०८१
आगामी ४ दिनसम्म तराईमा ‘लू’ चल्ने सम्भावना

File Photo

नेपालगन्ज ३ जेठ : आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने भएको हो ।

केही दिन अघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो । सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो । बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ ।

त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर, तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिंदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका हुन् ।

आगामी चार दिनसम्म देशैभर गर्मी बढ्ने र तराई मधेशका जिल्लामा तातो हावाको लहर अर्थात् लू चल्न सक्ने सम्भावना औंल्याइएकोछ । 

Kanti Aarogya Hospital Nepalgunj

धनगढी, नेपालगन्ज, जनकपुर लगायत तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्यस आसपाससम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो ।