नेपालगन्ज ५ जेठ : प्रविधिमा बढ्दो विकाससंगै यसको प्रयोग पनि ह्वात्तै बढेकोछ । विश्वजगतलाई एउटा सानो घर स्वरुप बनाएको प्रविधिको प्रयोगले मानिसका दिनचर्या सहज, सरल र परिस्कृत गरेको छ नै यसको प्रयोगले समय, आर्थिक तथा जनशक्तिको बचत समेत गर्ने गरेकोछ ।
प्रविधिमा आएको विकाससंगै प्रविधि विना हामी एक महिना, एक हप्ता, एक दिनमात्र नभइ एक पल पनि टाढा रहन सक्दैनौं । यही प्रविधिको प्रयोगसंगै हुने अपराधले समेत आफ्नो रफ्तार बढाउँदै गएकोछ । प्रविधिमा हुने सानातिना त्रुटी होस् वा अज्ञानताबस हुने कुनै कमजोरीको भरपुर फाईदा अपराधीले सहजै उठाउने भएपछि बढ्दो प्रविधिको प्रयोगसंगै प्रविधिजन्य अपराधले प्रसय पाइरहेकोछ ।
बाँकेमा पछिल्ला नौं महिनामा साइबर अपराधसँग जोडिएका विभिन्न ९८ वटा उजुरी प्रहरी निकायमा दर्ता भएकाछन् । साइबर अपराधसँग जोडिएका धेरै घटनाहरु सहजै प्रहरीकहाँ उजुरी नै पर्दैनन् । अन्तिम अवस्थामा पुगेपछि हुने उजुरीले यसको चित्रण भयाबह देखाइरहेकोछ । यदि साइबर सम्बन्धि सबै उजुरी पर्ने हो भने जिल्लामा हुने साइबर अपराधको तथ्यांक ह्वात्तै बढेर धेरै हुन्थ्यो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार, चालु आर्थिक वर्ष २०८०÷८१ को चैत मसान्तसम्म साइबर अपराध सम्बन्धी ९८ वटा उजुरी परेका छन् । ती मध्ये सामाजिक सञ्जाल प्रयोग गरी आर्थिक लाभ लिने सम्बन्धी १८ र बाँकी सामाजिक सञ्जाल प्रयोग गरी चरित्र हत्या गरेका रहेका छन् ।
‘साईबर अपराधका घटनाको रितपूर्वक निवेदन आएको अवस्थामा गम्भीरतापूर्वक अनुसन्धान हुने गरेको छ । साईबर अपराधका अनेकरुपहरु देखा परेका छन् ।’– डिएसपी डाँगीले भने,–‘सामाजिक सञ्जालको प्रयोग गरेर आर्थिक लगायतका अपराधिक घटना घटाउनेदेखि अरुको चरित्र हत्या गर्नेसम्मको काम भएका छन् ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले उजुरीको प्रकृती हेरेर साइबर अपराधका उजुरीको छानविनका लागि प्रहरीको केन्द्रिय साइबर ब्यूरोमा सिफारिस गर्दै आएको छ । चालु आवमा त्यस्ता ७८ वटा उजुरी सिफारिस गरिएको बाँके प्रहरीले बतायो ।
अनलाइन ठगी, अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गर्ने, वेभसाइट ह्याकिङलगायतका अपराधका विभिन्न स्वरुपमध्ये पछिल्लो समय ब्यूरोमा आर्थिक ठगीका निवेदन बढी आएको प्रहरीमा पर्ने गरेका छन् ।
साइबर अपराधका प्रवृत्तिमा विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइन प्रविधि राख्ने, अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने तथा दुःख दिने, सरकारी तथा अन्य सङ्घ संस्थाको वेभसाइट ह्याकिङ गर्ने, अनलाइन ठगी गर्नेजस्ता अपराधका गतिविधि पर्दछन् ।
यस्ता विषयमा विद्यालय तथा कलेज जीवन विताइरहेका विद्यार्थीहरुमात्र नभएर बयस्क तथा शिक्षित व्यक्तिहरु अपराधिको प्रपञ्चमा पर्ने गरेकाछन् ।