भारतीय एमडीएच र एभरेस्टका मसलामा क्यान्सरको कारक तत्व भेटिएपछि आयातमा रोक, नेपालगन्जमा छ्यापछ्याप्ती विक्री हुन्छ


सेतोखरी सेतोखरी   शनिबार, जेठ ५, २०८१
भारतीय एमडीएच र एभरेस्टका मसलामा क्यान्सरको कारक तत्व भेटिएपछि आयातमा रोक, नेपालगन्जमा छ्यापछ्याप्ती विक्री हुन्छ

नेपालगन्ज ५ जेठ : नेपालले दुई भारतीय ब्राण्डका मसला आयातमा रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण महाशाखाले सूचना जारी गर्दै आयातमा रोक लगाएको हो । 

भारतमा उत्पादन हुने एमडीएच र एभरेस्ट ब्राण्डका केही मसला पदार्थहरुमा इथायलिन अक्साइडको अवशेषको मात्रा तोकिएको अधिकतम सिमाभन्दा बढी देखिएको बताइएको छ । जसलाई क्यान्सरको कारक मानिन्छ। हङकङको सेन्टर फर फुड सेफ्टी एण्ड इन्भाइरोमेन्ट हाइजिन डिपार्टमेन्ट तथा सिंगापुरको सिंगापुर फुड एजेन्सीले यसअघि नै रोक लगाइसकेका छन् ।

यी दुई देशको जाँचलाई मध्यनजर राख्दै नेपालले पनि प्रतिबन्ध लगाएको हो । भनिएको छ,  ‘खाद्य नियमावली, २०२७ को नियम १९ को व्यवस्था बमोजिम तपसिलका मसला पदार्थहरुको आयात तथा बिक्री वितरण नगर्न÷नगराउन हुन सम्बन्धीत आयातकर्ता तथा विक्रेताहरुलाई सूचित गरिन्छ । साथै उक्त ब्राण्डका तपसिल बमोजिमका मसला पदार्थ बजारबाट अविलम्ब फिर्ता  गरी विभागलाई जानकारी गराउन समेत सूचित गरिन्छ ।’

भारतीय एमडीएच र एभरेस्टका मसलामा क्यान्सरको कारक तत्व भेटिएपछि सरकारले आयातमा रोक लगाएकोछ । तर, भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगन्जमा भारतीय एमडीएच र एभरेस्टका मसला छ्यापछ्याप्ती विक्रीवितरण भइरहेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यहाँका खुद्रा पसलेदेखि सपिङ्ग मल, डिपार्टमेन्ट स्टोर र मार्टमा भारतीय कम्पनीका एमडीएच र एभरेस्टका मसला छ्यापछ्याप्ती विक्री भइरहेको हो । 

अझ नेपालगन्जका सबै पसल, होटल, रेष्टूरेण्ट तथा फूटपाथमा राखिएका पसलमा समेत क्यान्सर कारक तत्व भेटिएका भारतीय एमडीएच र एभरेस्टका मसलाबाट बनाइएका, पकाइएका खानेकुराहरु निर्वाधरुपमा विक्रि वितरण भइरहेको छ । भने उपभोक्ताहरु समेत लापरवाह बन्दै स्वाद लिदैँ खाइरहेका छन् । 

इथायलिन अक्साइडको अवशेषको मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी रहेका एमडीएच र एभरेस्टका मसाला दिनहुँ भारतीय बजार रुपैडिहाबाट नेपाल भित्रिरहेका हुन्छन् । भने यसका लागि प्रहरी प्रशासन तथा खाद्य तथा गुण नियन्त्रण कार्यालय मौन देखिएकोछ । 

स्वास्थ्यका लागि हानिकारक भनि प्रमाणित हुँदासम्म खुलेयाम विक्रि वितरण हुँदासम्म राज्य गम्भीर बन्न सकेको छैन ।