बाँके लागूऔषधको कारोबारसँगै ट्रान्जिट प्वाईन्ट
नेपालगन्ज ६ जेठ : बाँकेमा आर्थिक वर्ष ०८०/८१ को वैशाखसम्ममा एक सय ४६ लागूऔषधसँग सम्बन्धित मुद्दा दर्ता भएको छ । सो मुद्दा दर्ता हुँदा त्यस अवधिमा दुई सय १९ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले बताए ।
उक्त आर्थिक वर्षमा आठ सय ६० दशमलव चार ९६ ग्राम ब्राउन सुगर, १६ दशमलव १२३ ग्राम चरेस, नौ दशमलव तीन सय १३ ग्राम अफिम, तीन दशमलव ३०० लिटर कोरेक्सलगायत लागूपदार्थ प्रहरीले बरामद गरेको छ ।
आर्थिक वर्ष ०७९/८० मा एक वर्षको अवधिमा एक सय ५७ मुद्दा दर्ता भएको छ । सो अवधिमा दुई सय ३६ जना पक्राउ परेका छन् । त्यस क्रममा आठ सय ८२ ग्राम ब्राउन सुगर र छ किलो गाँजा प्रहरीले बरामद गरेको छ ।
जिल्लामा आर्थिक वर्ष ०७८/७९ मा एक सय ३४ लागूऔषधसम्बन्धी मुद्दा प्रहरीमा दर्ता भएको छ । सो अवधिमा दुई सय १२ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७७÷७८ मा एक सय २६ मुद्दा दर्ता भएको र एक सय ९६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । दुवै आर्थिक वर्षमा ठुलो मात्रामा प्रहरीले लागूऔषध बरामद गरेको छ ।
सीमापारिको भारतीय बजार रुपैडिहामा खुलेआम बिक्ने र खुला सीमा भएकाले ओसारपसार सहज रहेकाले लागुऔषध नियन्त्रण निकै चुनौतीपूर्ण बनेको लागुऔषध विरुद्धका अभियन्ताको भनाइ छ ।
लामो समयदेखि लागुऔषधविरुद्ध सक्रिय दीपेन्द्र जोशीले पुनस्र्थापना केन्द्रमा सुधार भएर घर फर्किएका पुनः कुलतमा फसेको पाइएको जनाउँदै उपचार गरेर ठिक भएका बेरोजगार हुँदा पनि पुनः त्यही कुलतको दलदलमा फस्ने गरेको बताए । उनले भारततर्फसमेत लागुऔषध कारोबार निरुत्साहन गर्न कानूनी कारबाही अगाडि नबढ्दासम्म नेपालको प्रयासले मात्रै लागुऔषधको सेवन र कारोबार नियन्त्रणमा नआउने बताए ।
नेपाल–भारत दुई देशका सीमास्थित प्रशासन र प्रहरीका अधिकारीको बैठकमा समेत लागुऔषधको विषयले सधैँ जसो प्राथमिकता पाउने गरेको छ । लागुऔषध नियन्त्रणका लागि हरेक बैठकमा समन्वय गर्ने भनिए पनि भारतीय क्षेत्रमा लागुऔषधको बिक्री भने रोकिएको छैन ।
नेपालगन्ज नाका हुँदै लागुऔषध अफिम, गाँजा, चरेस भारततर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाइट्राजेपाम नेपाल भित्रिने गरेको छ । भारतसँग आवतजावत गर्ने खुला मुख्य नाका, छिमेकी देश भारतसँगको यस क्षेत्रका बासिन्दाको सम्बन्ध आदीलगायतका कारण पनि बाँके जिल्लामा लागुऔषधको कारोबार नियन्त्रण गर्न चुनौती छ ।
बाँके लागूऔषधको कारोबारसँग ट्रान्जिट प्वाईन्ट
बाँके जिल्ला लागूऔषध कारोबारको उच्च जोखिममा रहेको छ । भारतबाट ब्राउन सुगर, कोरेक्स नाइट्रोभ्याट लागूऔषधको तस्करी हुनाका साथै नेपालगन्जबाट पहाडी जिल्लातर्फ लैजाने गरेको देखिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
नेपालबाट भारततर्फ गाँजा, अफिमलगायत लागूऔषध तस्करी भएको र औषधि पसल तथा फार्मेसीबाट (चिकित्सकको प्रेप्किप्सनबिना)औषधि वितरणले लागूऔषधको जोखिम बढाएको उनले बताए । बाँकेको ६९ किलोमिटर भारतसँग सीमासँग जोडिएको छ । प्रहरी नायब उपरीक्षक डाँगीले भने, ‘पछिल्लो समय नेपालगन्ज सहर लागूऔषध कारोबारको ‘ट्रान्जिट हब’का रूपमा विकास हुँदै गएको छ ।’
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री रत्न खत्रीले खुला सीमाबाट हुने लागूऔषधको कारोबार रोक्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले लागूऔषधको कारोबार रोक्न विद्यालयस्तरमा सचेतना कार्यक्रम गरिने जानकारी दिए ।
बाँके प्रहरीले लागुऔषधले अन्य अपराध पनि बढाउने गरेकाले सो नियन्त्रण पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाएकोछ । जिल्लामा हुने चोरी, घरेलु हिंसा, झैझगडा तथा विभिन्न अपराधका घटनाको कारकसमेत लागुऔषध हुने गरेकाले सो रोक्न कुनै पनि कसर बाँकी नराखिएको जनाएको हो ।
भारतसँग सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता बृद्धि हुँदै गएको पाइएको छ । प्रहरीले खुला सीमा नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाकाबाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ ।