नेपालगन्ज ७ जेठ : नेपालगन्जसहित बाँकेका विभिन्न स्थानमा सोमबार हावाहुरीसँगै वर्षा भएकोछ । स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावका कारण सोमबार बेलुका ५ बजे एक्कासी नेपालगन्जसहित बाँकेका विभिन्न स्थानमा हावाहुरीसँगै वर्षा भएको हो ।
यो समाचार तयार गर्दासम्म मेघगर्जनसहित हावाहुरीसँगै वर्षा भइरहेकोछ । यद्यपी कति पानि प¥यो त्यसको विवरण आउन बाँकीछ । पछिल्लो सातादेखि तापक्रममा भएको बृद्धिले नेपालगन्जसहित देशका तराई, मधेश तथा पहाडी भेगमा गर्मी ह्वात्तै बढेको थियो । गर्मीका कारण जनजिवन प्रभावित बन्दा सर्वसाधरणले सास्ती खेप्नु परेको थियो ।
यो वर्ष बाँकेको नेपालगन्जमा देशकै अत्यधिक गर्मी भएपछि यहाँका सर्वसाधरण गर्मीबाट बच्न सितलता खोज्न विभिन्न उपाय अपनाइरहेका थिए । सोमबार बेलुका ५ बजे एक्कासी मौसममा आएको परिर्वतनसंगै हावाहुरी र पानि पर्दा यहाँको तापक्रम घटेकोछ ।
हावाहुरीसँगै आएको पानिले किसानलाई केही राहत गरेपनि भौतिक तथा मानवीय क्षति यो समाचार तयार पार्दा सम्म नभएको जानकारी आएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोखरीलाई जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको थियो । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । सो प्रभावको कारण आज बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेश, लुम्बिनी, कर्णाली प्रदेश लगायत पहाडी भूभागमा बादल लागेको छ । काठमाडौं उपत्यकासहित कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा सोमबार विहानैदेखि वर्षा पनि भइरहेको थियो ।
वर्षासंगै वातावरणमा चिसोपना बढेको छ। भने प्रदुषण समेत हटेकोछ । वर्षका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ । मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखा बताउँछ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार एक–दुई स्थान भन्नाले १० प्रतिशतभन्दा कम क्षेत्र बुझिन्छ । थोरै स्थानले १० भन्दा धेरै र ३० प्रतिशतभन्दा कम क्षेत्र तथा केही स्थान भन्नाले ३० भन्दा बढी र ५० प्रतिशतभन्दा कम क्षेत्र बुझिन्छ ।
यसैगरी धेरै स्थान भन्नाले ५० देखि ८० प्रतिशतसम्म र अधिकांश स्थान भन्नाले ८० प्रतिशतभन्दा धेरै स्थान ओगटिने क्षेत्र बुझिन्छ ।