सोमबारको हावाहुरीले चार ट्रान्सफर्मरसहित दुईसय विद्युतका पोल ढले

नेपालगन्जका अधिकांश क्षेत्रमा विद्युत् सेवा अवरुद्ध, मर्मतका लागि पाँच वटा टोली परिचालित


सेतोखरी सेतोखरी   मंगलबार, जेठ ८, २०८१
सोमबारको हावाहुरीले चार ट्रान्सफर्मरसहित दुईसय विद्युतका पोल ढले

नेपालगन्ज ८ जेठ : अचानक मौसममा आएको परिर्वतनसंगै बाँकेमा सोमबार बेलुका आएको भीषण हावाहुरीका कारण विद्युत सेवामा ठूलो असर परेपछि जिल्लाका अधिकांश स्थानको विद्युत सेवा अवरुद्ध भएकोछ । सोमबार बेलुका ५ बजे भीषण हावाहुरीका साथ असिना पानि परेपछि चार वटा ट्रान्सपर्मरसहित दुई सय भन्दा बढी विद्युतका पोल ढलेर क्षतिग्रस्त भएको हो । 

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले दिएको जानकारी अनुसार भीषण हावाहुरीले धेरै ठाउँका विद्युत् पोलहरू ढालेर क्षतिग्रस्त बनाएकोले सोमवार साँझबाटै बाँकेमा विद्युत् सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले हावाहुरीले विभिन्न ठाउँका दुई सय बढी पोल र चार वटा  ट्रान्सफर्मर ढालेर क्षति पु¥याउँदा विद्युत् सेवा अवरुद्ध भएको बताए ।

Bidhut_xati_npj-2-1716278114.jpg
उनले हावाहुरी रोकिने बित्तिकै वितरण केन्द्रबाट प्राविधिकहरूको पाँच वटा टोलीलाई परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारमा खटाइएको बताए । सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको प्रमुख लामिछानेले बताए ।

यो पनि पढ्नुहोस् हावाहुरीसँगै नेपालगन्जमा वर्षा, काकाकुल नेपालगन्जबासीलाई राहत

Care City
Kanti Aarogya Hospital Nepalgunj

सोमवार राती फेरि हावाहुरी आएको र वर्षा समेत भएकोले क्षतिको खोजी र मर्मत सम्भारको कार्य पनि अवरुद्ध हुन जाँदा विद्युत् सुचारु गर्न नसकिएको नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । मङ्गलवार बिहान चार बजेबाटै फेरी ती आठ वटै टोलीलाई परिचालन गरेर पोल र ट्रान्सफर्मर खडा गर्ने तथा तार फेरी जोड्ने कार्य सुरु गरिएको जनाउँदै त्यसपछि अहिले केही ठाउँको विद्युत् आंशिक रूपमा सुचारु गर्न सकिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेले जानकारी दिए ।

अहिले मर्मत सम्भार र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले मङ्गलवार बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु गर्ने तयारी गरिएकोछ । सोही प्रकारले नेपाल विद्युत् प्राधिकरण खजुरा उपवितरण केन्द्रका प्रमुख हीरामणि घर्तिमगरले खजुरा क्षेत्रमा पनि धेरै पोलहरूमा क्षति भएको तथा ठाउँ ठाउँमा तारहरू समेत चुँडिएको जनाउँदै सोमवार रातभरि काम गरेको र अझै मर्मत जारी रहेको बताए ।

Bidhut_pol_xati_npj_4-1716278146.jpg
यस्तै लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजीव सिंहले हावाहुरीले प्रदेशका विभिन्न जिल्लामा भएको क्षति सङ्कलनको काम भइरहेको बताए । उनले विभिन्न ठाउँमा धेरै क्षति भएकोले विवरण सङ्कलन भइरहेको हुँदा सबैतिरको क्षति बारे एक दुई दिनमा मात्रै जानकारी हुने बताए ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले हावाहुरी र पानीका कारण प्रायःजसो सबै स्थानहरूमा वितरण तथा प्रसारण लाइनको पोल र तारमा क्षति पुगेको हुँदा विद्युत् पुनः सुचारु गर्न केही समय लाग्ने देखिएकोले ग्राहक वर्गमा धैर्य गरी बसिदिन हुन अनुरोध गरेको छ । 

साथै विद्युत् पोल, तार ट्रान्सफर्मर लगायत कुनै पनि उपकरण नछुनसमेत सर्वसाधारणलाई वितरण केन्द्रले आग्रह गरेको छ ।

Bidhut_pol_xati_npj_3-1716278174.jpg