नेपालगन्ज ९ जेठ : आगमी जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमअन्तर्गत बाँकेका ३५ हजार सात सय ५ जना बालबालिकालाई आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत बाँकेमा पनि खोप कार्यक्रम तय गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका ९ हजार एक सय २९ जना, डुडुवा गाउँपालिकाका एक हजार ९ सय ६३ जना, कोहलपुर नगरपालिकाका ८ हजार जना, जानकी गाउँपालिकाका दुई हजार एक सय २३ जना, खजुरा गाउँपालिकाका४ हजार ९ सय ६१ जना, बैजनाथ गाउँपालिकाका तीन हजार एक सय ३१ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार दुई सय ३१ जना र नरैनापुर गाउँपालिकाका तीन हजार एक सय ६७ जना गरि कुल ३५ हजार सात सय ५ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ । यसमा ४ सय ३६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई समेटिएकोछ । भने ४ सय ४६ जना स्वयमसेवक खटाँइदैछ ।
यही जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमका लागि जिल्लामा दुई सय ४३ खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए । खोप कार्यक्रमका लागि हरेक खोप केन्द्रमा एक÷एक स्वास्थ्यकर्मी तथा दुई÷दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्धारित कार्यक्रमअन्तर्गत जिल्लाका आठवटै स्थानीय तहमा एकैसाथ खोप कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले जानकारी दिए ।
‘विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो’, उनले भने, ‘यसअघि खोप लगाएकाले पुनः लगाउनु पर्दैन, पोलियो थोपा खुवाइरहेका बालबालिकालाई खोप लगाउन पर्दैन कि भन्ने हुनसक्छ, खोप र पोलियो थोपा फरक हो, पोलियो थोपा खुवाइरहेकालाई पनि खोप लगाउनुपर्छ ।’
बुधबार स्वास्थ्य कार्यालयले जिल्ला खोप समन्वय समितिका पदाधिकारी, सरोकारवाला निकाय तथा सञ्चारकर्मीसँग पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रमसम्बन्धी अन्तरक्रियासमेत आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा सहभागीले नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत पोलियो रोगविरुद्धको आइपिभी खोप कार्यक्रम सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र चौधरीले सकेसम्म लक्षित उमेरका बालबालिका रहेका सबै विद्यालयमा केन्द्र राखेर खोप लगाइने बताए । नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्टले पोलियो खोपलाई प्रभावकारी बनाउन नजिकको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे । उनले कुनै पनि बालबालिकाहरु खोपबाट बञ्चित हुन नहुनेमा जोड दिए । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले बाँकेलाई पोलियोमुक्त गराउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।
नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ । विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मको अवधिमा देशभर गरी छुटेका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने तयारी गरिएको छ ।
पोलियो रोगविरुद्धको खोप नलगाएमा स्थायीरुपमा पक्षघात हुन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । सबैभन्दा बढी पाँच वर्षसम्मका बालबालिका पोलियो रोगको भाइरसबाट सङ्क्रमित हुन सक्ने जनाइएको छ ।