एक वर्षमा ३५ बालविवाह रोकिए
नेपालगन्ज : विवाह गर्नका लागी कानूनले २० वर्ष तोकेपनि अझैपनि कलिलै उमेरमा विवाह गर्ने प्रवृत्ति कायमै रहेको छ । धेरै जसो बालबालिका कलिलै उमेरमा विवाह बन्धनमा बाधिन्छन् । बालविवाह कानूनी अपराध हो, तर, यस विषयमा राज्य तथा सरोकारवालाको चासो र सक्रियता नदेखिएपछि जिल्लामा बालविवाहको अवस्था भयावह भएको हो ।
जिल्लामा वर्षेनी बालविवाहका घटना बाहिर आउँछन्, कतिपय रोकिन्छन् भने कतिपय प्रशासनको आँखाछलिमा बालविवाह हुनेगर्छ । नेपालगन्ज उप–महानगरपालिकाका सबैजसो वडामा बालविवाहको समस्या प्रशस्त मात्रामा छ ।
बालविवाह न्यूनिकरणका लागि नगरमै बालअधिकारका संघ सस्था, सरकारी संयन्त्र सक्रिय रुपमा काम गरेतापनि बालविवाहका घटना दिनहुँ हुने गरेका छन् ।
नगरमै यस्तो अवस्था देखिएपछि जिल्लाका अन्य ग्रामीण वस्तिमा बालविवाहको अवस्था झन् जटिल रहेको पाइएको छ ।
समुदाय, धर्म र रितिरिवाजका कारण विवाहका प्रकृती फरक छन् । रितिरिवाज, परम्परा र धर्मका नाममा बालविवाह हुने गरेका छन्, भने कतिपय रुढिबादी परम्परा र गलत बुझाईका कारण हुने गर्छन् ।
वर्षभरी जिल्लामा कति बालविवाह हुन्छन्, यसको यकिन तथ्यांक कसैसंग छैन । तरपनि विभिन्न सरकारी तथा गैर सरकारी निकायको अनुमानमा बालविवाहको अवस्था भयावह छ ।
नेपालगन्ज उपमहानगरपालिका र आसपासका स्थानमा भएका बालविवाहका घटनाहरु बाहिर आएपनि अन्य पालिका भित्र गुपचुप रुपले हुने गरेको पाइएको छ । जिल्लाको ग्रामीण भेगमा बालविवाहको अवस्था डरलाग्दो भइरहेका बेला नेपालगन्ज पनि अछुतो छैन ।
बालबालिकाका क्षेत्रमा क्रियाशिल संघसस्थाले वर्षेनी करोडौं रुपैयाँ खर्च गर्छन् । जसमा लाखौं रुपैयाँ र कार्यक्रम बालविवाह न्यूनिकरणका लागि खर्चिएका भएता पनि जिल्लामा बालविवाहको अवस्था ज्यूँका त्यूँ नै छ ।
अझ पछिल्लो समय १६ वर्षमुनि विवाह गर्न पाउनुपर्छ भन्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय र नेपालगन्ज उपमहानगरपालिकामा दिएका धर्नाबाट पनि बालबालिकाको क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाको भूमिका र उनीहरुको लगानीको परिणाम प्रष्ट हुन्छ ।
बालबालिकाको नाममा बजेट खर्च गर्ने र कागजी प्रतिवेदन बनाई मोटो रकम कुम्ल्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाको नीतिले नै बालविवाहको अवस्था न्यूनिकरण हुनुको साटो झन् भयाबह बन्दै आएको सर्वसाधरणको बुझाई छ ।
बालविवाह न्यूनिकरण गर्ने विषयमा प्रहरी समक्ष निवेदन कम आउने गरेको बाँके प्रहरी प्रमुख वीरबहादुर ओली बताउँछन् । संस्कार र परम्पराको आडमा प्रहरी प्रशासनमा बालविवाहका उजुरी आउदैनन् । समाजमा सबै मिलेका हुन्छन् । प्रहरीको अनुसन्धानमा बालविवाह जिल्लाका सवै पालिकामा हुने गरेको ओली बताउँछन् ।
मधेसी र मुस्लिम समुदायमा बालविवाहका घटना बढी हुने गरेको देखिन्छ, धार्मिक परम्परा, रितिरिवाज तथा सामाजिक मान्यताका कारण बालविबाह गर्ने र गराउने गरिरहेका छन् ।
बाँके प्रहरी प्रमुख ओलीले भने–‘प्रविधिमा बालबालिकाको पहुँच बृद्धि भएसगैं यसको नकरात्मक असर परिरहेकोछ । अझ विद्यालय तथा कलेज पढ्ने बालबालिकामा प्रेमविवाहको डरलाग्दो स्वरुपछ ।’
प्रहरी प्रमुख ओली भन्छन्–‘प्रहरीको सम्र्पकमा आएकालाई हामी जसरी पनि रोक्छौं । प्रहरी र समाजको आँखा छलेर गर्ने बालविवाह नियन्त्रण मात्र होइन त्यसको जानकारी समेत पाउँन मुस्किल हुन्छ ।’ प्रहरी प्रमुख ओली अगाडी थप्छन्–‘अझ पछिल्लो समय बालविवाहमा पनि प्रेमविवाह गर्ने अवस्था अझ भयानक बन्दै आएकोछ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेको एक तथ्यांक अनुसार २०७५ भदौ १ गतेदेखि २०७६ भदौ १ गते सम्मको अवधिमा जिल्लामा ३५ वटा बालविवाह प्रहरीले रोकोछ ।
यो अवधिमा बालविवाहको ६ वटा मुद्दा प्रहरी समक्ष आएको प्रहरी प्रमुख एसपी ओली बताउँछन् । बालविवाहमा कमी आएको जस्तो देखिएपनि समग्रमा चुनौतीपुर्ण रहेको उनको बुझाईछ ।
यी प्रहरीको सम्र्पकमा आएको घटनाको तथ्यांक हो तर, प्रहरीको सम्र्पकमा नआएका यस्ता थुप्रै घटनाहरु छन् । बालविवाह न्यूनिकरण र यसको विकृती रोक्न बालबालिका र अभिभावकलाई जनचेतना जगाउन सके प्रभावकारि हुनसक्छ ।
घरको आर्थिक अवस्था र परम्परागत मुल्यमान्यताको आडमा बालविवाह गराउने कार्यको परिणाम बेचविखन हुनसक्ने भन्ने कुरामा अधिकांस अभिभावक र बालबालिकालाई स्वयम थाहा नहुने र घटनापछि मात्र पछुताउने गरेको माईती नेपालका क्षेत्रीय संयोजक केशव कोइराला बताउँछन् । चेलीबेटी बेचविखनको कारकमध्ये पनि बालविवाह एक भएकाले कानूनको प्रभावकारी कार्यान्वयन नहुँदासम्म अवस्था भयावह रहने कोइरालाको बुझाईछ ।
कानूनको प्रभावकारी कार्यान्वय नहुनु र कानून विरुद्ध उत्रिनेलाई कारबाही गर्न नसक्नुले बालविवाहको अवस्था बढिरहेको जिल्ला बालक्लब सञ्जाल बाँकेकी सचिव चेतना क्षेत्रीको बुझाई छ ।
उनले भनिन्–‘बालविवाह गर्ने स्वरुपमा पनि परिर्वतन आएकोछ । अझ प्रहरी र समाजको आँखा छलेर भारतमै बालबालिकालाई लगेर बालविवाह हुने गरेकोछ । यस्तो अवस्थामा बालविवाह गर्ने गराउनेलाई सम्झाउने दिन गए । अभिभावकहरु बुझेर पनि बुझ पचाइरहेकाछन् । अब कारबाही गर्नुपर्छ ।’
बालविवाह कानूनी र सामाजिक अपराध हो, तर, सामाजिक मुल्य मान्यता, रितिरिवाज र परम्पराका नाममा हुने विवाहले बालबालिकालाई ठूलो नकरात्मक प्रभाव पारिरहेकोछ ।