नेपालगन्ज १२ जेठ : चालु आर्थिक वर्षको वैशाख महिनासम्म बाँकेमा आत्महत्याबाट मृत्यु हुनेको संख्या ८८ पुगेकोछ । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांकले चालु आर्थिक वर्षको वैशाख महिनासम्म आत्महत्याबाट ८८ जनाले ज्यान गुमाएका हुन् ।
बाँके प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार बाँकेमा हरेक वर्ष आत्महत्याबाट मृत्यु हुनेको संख्या बढ्दै गएकोछ । उनका अनुसार बाँकेमा आव ७८/८९ मा ५८ जनाले आत्महत्याबाट ज्यान गुमाएका छन् । यस्तै बाँकेमा ७९/८० मा एक सय ४१ जनाले आत्महत्याबाट ज्यान गुमाउँदा र चालु आवको बैशाख सम्ममा ८८ जनाले आत्महत्याबाट ज्यान गुमाएको प्रहरी रेकर्डमा रहेकोछ । चालु आवमा ८ वटा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको उनले बताए ।
यता भेरी अस्पताल नेपालगन्जमा कार्यरत मानसिक रोग विशेषज्ञ डाक्टर लीला देवकोटाले गम्भीर मनोरोग तथा मनमा उत्पन्न समस्यालाई व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्याको बाटो रोज्ने गरेको भन्दै यो दर घटाउन मानसिक रोगबारे जनचेतना फैलाई समयमै उपचार गरेर मानसिक स्वास्थ्य राम्रो बनाए आत्महत्याबाट ज्यान गुमाउनेलाई बचाउन सकिने बताईन ।
डाक्टर देवकोटाले उचित परामर्श र समयमै पहिचान गर्न सके आत्महत्याको घटनालाई न्यूनिकरण गर्न सकिने बताइन् । उनले आत्माहत्याका घटनालाई समाजले अपहेलना गर्ने र कायरताको संज्ञा दिने गरिएको भन्दै समाजले आत्महत्यालाई एउटा रोगकोरुपमा लिएर उपचार खोज्न सुझाव दिइन् । उनले आत्महत्या र आत्महत्या रोकथामका बारेमा गलत धारणा नबढाइ जनचेतना जगाउन जरुरी रहेको पनि बताए ।
आत्महत्याको प्रयास गर्ने व्यक्तिले उपयुक्त सहयोगको खोजी गरेका हुन्छन् । यदि यसलाई बेवास्ता गरेको खण्डमा नतिजा घातक हुनसक्छ । त्यसैले त्यस्ता ब्यक्तिलाई उचित ध्यान पु¥याएर उपचार तथा मनोपरामर्श प्रदान गरेमा आत्महत्या रोक्न सकिन्छ।
आत्महत्याको घटनामा नेपाल विश्वको ७ औं नम्बरमा पर्दछ । सरकारले आत्महत्याको सोच भएका वा प्रयास गरेका व्यक्तिहरुलाई त्यसबाट निको बनाई सबल रुपमा जीवनयापन गराउनका लागि २४ सै घण्टा पैसा नलाग्ने ११६६ निःशुल्क हटलाईन सञ्चालन गरिरहेकोछ ।