पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु

बाँकेका ३५ हजार बढि बालबालिकालाई खोप लगाइँदै


सेतोखरी सेतोखरी   आइतबार, जेठ १३, २०८१
पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर सुरु

सांकेतिक तस्विर

नेपालगन्ज १३ जेठ : पोलियोविरुद्ध ‘आईपीभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ । अभियानअन्तर्गत  १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई खोप लगाइने छ । 

‘सतहत्तर वटै जिल्लामा खोप अभियान प्रारम्भ भएको छ, नियमित खोप कार्यक्रम सञ्चालन भएका खोप केन्द्रमा पनि ‘आईपीभी’ को व्यवस्था गरेका  छौँ’, अभियान सुरु भएको जानकारी दिँदै केन्द्रीय खोप अभियानका प्रमुख अभियान गौतमले भने।

यही जेठ २६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा २०७३ देखि २०७५ सम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई समेटिने उनले बताए । विसं २०७१ देखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म विश्वभर आईपीभी खोपको अभाव हुँदा देशभरका बालबालिका खोपबाट वञ्चित भएकाले अभियान सञ्चालन गरिएको उनले जानकारी दिए ।

नियमित खोप सञ्चालनका क्रममा बालबालिकालाई जन्मिएको दिनदेखि १५ महिनाभित्र सातपटक १३ वटा रोगबाट बच्ने खोप लगाउनुपर्ने व्यवस्था गरिएको तथा त्यस अवधिमा छुटेका बालबालिकालाई १६ देखि २३ महिनाभित्र खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, बाँकेका ३५ हजार सात सय ५ जना बालबालिकालाई लक्ष्य गरेर सञ्चालित खोप अभियान सुरु भएकोछ ।

विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्मका बालबालिकालाई जेठ १३ गतेदेखि देशभर एकैसाथ सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपिभी खोप उपलब्ध गराउने सरकारको निर्धारित कार्यक्रमअन्तर्गत बाँकेमा पनि खोप अभियान सुरु भएको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका ९ हजार एक सय २९ जना, डुडुवा गाउँपालिकाका एक हजार ९ सय ६३ जना, कोहलपुर नगरपालिकाका ८ हजार जना, जानकी गाउँपालिकाका दुई हजार एक सय २३ जना, खजुरा गाउँपालिकाका ४ हजार ९ सय ६१ जना, बैजनाथ गाउँपालिकाका तीन हजार एक सय ३१ जना, राप्तीसोनारी गाउँपालिकाका तीन हजार दुई सय ३१ जना र नरैनापुर गाउँपालिकाका तीन हजार एक सय ६७ जना गरि कुल ३५ हजार सात सय ५ जना बालबालिकालाई आइपिभी खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ । यसमा ४ सय ३६ जना विद्यालय बाहिर रहेका बालबालिकालाई समेटिएकोछ । भने ४ सय ४६ जना स्वयमसेवक खटाँइदैछ । 

खोप अभियानका लागि जिल्लामा दुई सय ४३ खोप केन्द्र निर्धारण गरिएको छ । भने हरेक खोप केन्द्रमा एक÷एक स्वास्थ्यकर्मी तथा दुई÷दुई महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
विसं २०७३ वैशाखदेखि विसं २०७५ असोज मसान्तसम्मको अवधिमा पोलियो खोप कार्यक्रम थिएन, सरकारले ती छुटेका बालबालिकालाई लक्षित गरेर खोप कार्यक्रम ल्याएको हो । नेपालमा सन् २०२२ देखि २०२६ सम्ममा पोलियो रोग उन्मूलन गर्ने सरकारको रणनीतिक योजना रहेको छ ।