बाँकेमा बर्सेनी बढ्दै बेरुजुको चाङ्ग : सबैभन्दा बढी बेरुजु नेपालगन्जको 


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
बाँकेमा बर्सेनी बढ्दै बेरुजुको चाङ्ग : सबैभन्दा बढी बेरुजु नेपालगन्जको 

नेपालगन्ज १५ जेठ : बाँकेमा बर्सेनी बेरुजुको चाङ्ग बढ्दै गएकोछ । बेरुजुको चाङ्ग बढ्दै गएपछि राज्यले ठूलो आर्थिक घाटा ब्यहोरिरहेकोछ ।

महालेखा परीक्षकले हालै सार्वजनिक गरेको प्रतिबेदनमा बाँकेमा बर्सेनी बेरुजु बढ्दै गएको हो । एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिकासहित ८ वटा स्थानीय तह रहेको बाँकेमा ६४ करोड भन्दा बढी बेरुजुु रहेको तथ्याङ्क सार्वजनिक भएकोछ । योसंगै स्थानीय पालिकाको कार्यसम्पादनमा गम्भीर प्रश्न खडा भएको छ । 

आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण गर्दा बाँकेका स्थानीय तहको बेरुजु ६४ करोड ७२ लाख भन्दा बढी भेटिएको तथ्याङ्क महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखछ । 

यो पनि पढ्नुहोस् बाँकेका पालिकामा बेरुजुको चाङ्ग, घट्नुको साटो वर्षेनी बढ्दो

Kanti Aarogya Hospital Nepalgunj

आर्थिक वर्ष २०७९–८० मा महालेखाले बाँकेका ८ स्थानीय तहको कुल १६ अर्ब ८९ करोड ९७ लाख ३४ हजार बराबरको लेखा परीक्षण गरेको थियो । उक्त रकमको लेखापरीक्षण गर्दा महालेखाले ६४ करोड ७२ लाख ८५ हजार रकम बेरुजुमा पाइएकोछ । 

महालेखाले अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा प्रतिवेदन जारी गर्दा बाँकेका आठ स्थानीय तहको ६९ करोड ५५ लाख रुपैयाँ बेरुजु औँल्याएको थियो ।

उक्त तथ्याङ्क अनुसार सबैभन्दा बढि बेरुजु नेपालगन्ज उपमहानगरपालिकाको पाइएको हो । महालेखाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को लेखा परीक्षण प्रतिवेदन अनुसार नेपालगन्ज उपमहानगरको ४ अर्ब १२ करोड ६६ लाख ५२ हजारको परीक्षण गर्दा १६ करोड ५७ लाख ५२ हजार रुपैयाँ बेरुजु रहेकोछ । 

बाँकेमा सबैभन्दा कम जानकी गाउँपालिकाको ४ करोड ८७ हजार बेरुजु देखिएको छ । जानकी गाउँपालिकाको एक अर्ब ३६ करोड १२ लाख ४५ हजारको परीक्षण गर्दा ४ करोड ८७ हजार बेरुजु रहेकोछ ।

यस्तै कोहलपुर नगरपालिकाको २ अर्ब ८४ करोड ७९ लाख ७३ हजारको परीक्षण गर्दा १३ करोड ३० लाख ७२ हजार बेरुजु, खजुरा गाउँपालिकाको एक अर्ब ८५ करोड ९७ लाख ९७ हजारको परीक्षण गर्दा ४ करोड ५९ लाख ८५ हजार बेरुजु, डुडुवा गाउँपालिकाको एक अर्ब २८ करोड २२ लाख ७८ हजारको परीक्षण गर्दा ६ करोड १२ लाख ७८ हजार बेरुजु रहेकोछ । 

सोही प्रकारले नरैनापुर गाउँपालिकाको एक अर्ब ४८ करोड २३ लाख ५५ हजारको परीक्षण गर्दा ५ करोड ९५ लाख ७१ हजार बेरुजु, बैजनाथ गाउँपालिकाको एक अर्ब ९७ करोड ६५ लाख ७६ हजारको परीक्षण गर्दा १० करोड १३ लाख २७ हजार र राप्तीसोनारी गाउँपालिकाको एक अर्ब ९६ करोड २८ लाख ५८ हजारको परीक्षण गर्दा ४ करोड २ लाख १३ हजार बेरुजु भेटिएको हो । 

यो पनि पढ्नुहोस् बाँकेका ८ स्थानीय तहमा ४५ करोड बढि बेरुजु

तथ्याङ्क अनुसार बाँकेका पालिकाको बेरुजु प्रतिशत हेर्दा नेपालगन्ज उपमहानगरपालिकाको बेरुजु प्रतिशत ४.०२, कोहलपुर नगरपालिकाको बेरुजु प्रतिशत ४.६७, खजुरा गाउँपालिकाको बेरुजु २.४७ प्रतिशत, जानकी गाउँपालिकाको बेरुजु प्रतिशत २.९४ औँल्याइएको छ । 

त्यस्तै, डुडुवा गाउँपालिकाको बेरुजु प्रतिशत ४.७८, नरैनापुर गाउँपालिकाको बेरुजु प्रतिशत ४.०२ प्रतिशत, बैजनाथ गाउँपालिकाको बेरुजु प्रतिशत ५.१३ र राप्तीसोनारी गाउँपालिकाको बेरुजु प्रतिशत २.०५ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महालेखाले यसअघिका वर्ष जस्तै स्थानीय तहले गरेको खर्चको मनपरी औँल्याउँदै विभिन्न सुझाव पनि आफ्नो प्रतिवेदनमा समेटेको छ ।