बर्दियाका तीन पालिकामा तीनदिन विद्यालय बन्द


सेतोखरी सेतोखरी   मंगलबार, जेठ १५, २०८१
बर्दियाका तीन पालिकामा तीनदिन विद्यालय बन्द

गुलरिया १५ जेठ : अत्यधिक गर्मीका कारण बर्दियाका तीन पालिकाले तीन दिन विद्यालय बन्द गरेकाछन् । बर्दियाको बढैयाताल गाउँपालिका, गुलरिया र मधुवन नगरपालिकाले जेठ १६ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरेका हुन् ।

गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले अत्यधिक गर्मीका कारणले पठनपाठनमा असहज भएको जनाउँदै अभिभावक, विद्यार्थी र शिक्षकबाट गुनासो आएपछि नगर शिक्षा समितिको बैठकले तीन दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको बताए । 

तीन दिन बर्खे बिदाबाट कट्टा हुने गरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न÷गराउन बाधा नपर्ने गरी पठनपाठन कार्य मात्र बन्द हुने बताइएको छ । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताए ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको सङ्ख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डन डाक्टर सुवास पाण्डेले बताए । उनका अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

गर्मीका कारण ‘लू’ लागेका, पखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डाक्टर पाण्डेले बताए । बालबालिकामा शरीरभरि रातो बिमिरा आउने, बिमिरो पाकेर घाउ बन्ने र सङ्क्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । यता अत्यधिक गर्मीका कारण बाँकेको नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले बिद्यालय बन्द गरिसेकाछन् ।