नेपालगन्ज १७ जेठ : मध्य र सुदूरपश्चिम नेपाल तथा सीमावर्ती भारतीय क्षेत्रका लाखौँ मानिसलाई आँखा उपचार सेवा दिइरहेको नेपालगन्ज फुल्टेक्रा स्थि फत्तेबाल आँखा अस्पतालका संरक्षक, समाजसेवी तथा वरिष्ठ दानवीर श्रीजंग शाहको निधन भएकोछ ।
आफ्नो सर्वस्व अस्पताललाई दान गरेका वरिष्ठ दानीवर श्रीजंगको १०१ वर्षको उमेरमा हिजो (बुधबार) साँझ काठमाडौंमा निधन भएको हो । शाहले बुवा फत्तेजंग र आमा बालदिब्यश्वरीले आफ्नो घरजग्गा दान गरेर निर्माण गरेको नेपालगन्ज फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पताललाई ६ वर्षअघि सर्वस्व दान गरेका थिए ।
श्रीजंग कान्तिपथस्थित श्रीकुञ्जमा बस्दै आएका थिए । आफू बसिरहेको कान्तिपथको घरसहित ३ रोपनी ३ आना ३ पैसा २ दाम जग्गा दान गरेपछि उनको प्रशंसा देशभर भएको थियो । पारिवारिक स्रोतका अनुसार, दान गरेको घरजग्गाको मूल्य सवा अर्बभन्दा धेरै हुन आउँछ ।
सर्वस्व दानबारे उनले भनेका थिए, ‘यो सबै प्रेरणाको स्रोत मेरा बुवाआमा हो । यो घरजग्गा सबै मेरो पैतृक सम्पत्ति हो । गीता र बाइबल पढ्दा दानजस्तो ठूलो अरु केही छैन भन्ने ज्ञान प्राप्त भयो । त्यसैले सर्वस्व दान गरेको हुँ ।’
आफू र पत्नी रुद्रकुमारीको मरणोपान्त घरजग्गा अस्पतालले पाउने गरी ६ वर्षअघि नै नामसारी पनि गरिदिएका थिए । शाह फत्तेबाल आँखा अस्पतालका संरक्षक हुन् । शाहको पुर्खौली जाजरकोटमा भए पनि उनी काठमाडौंमा जन्मिए । तर, बुवा कप्तान फत्तेजंगसँगै बाँके, बर्दिया र कैलालीमा धेरै समय बिताए ।
श्रीजंगका बुबाआमा स्वर्गीय कप्तान फत्तेजंग र बालदिब्यश्वरी शाहले २०४३ सालमा अस्पताललाई घरसहित करिब पाँच बिघा जग्गा दिएका थिए । उनले दान गरेकै घरबाट सञ्चालित अस्पताल अहिले पश्चिम नेपालको सबैभन्दा ठूलो आँखा अस्पताल बनेको छ । ९ बेडबाट सुरु भएको अस्पताल अहिले एक सय ५० बेड पुगेको छ । वार्षिक डेढ लाखभन्दा बढी बिरामीको आँखा परीक्षण हुँदै आएको छ ।