गर्मीका कारण समस्या भएको कसरी थाहा पाउने ? कसरी जोगाउने ?
नेपालगन्ज १८ जेठ : देशभर बढ्दो गर्मीका कारण यतिबेला जनजिवन प्रभावित बनेकोछ । गर्मीका कारण बालबालिका, बृद्धबृद्धा तथा विरामी भएकाहरुले सास्ती भोग्नु परेकोछ । गर्मीयाममा बालबालिकामा विभिन्न मौसमजन्य स्वास्थ्य समस्याहरू देखिने र त्यसमा गर्मीका कारण थप जटिलता हुन सक्ने भन्दै विज्ञहरूले सजग हुन सुझाव दिएका छन् ।
गर्मी बढेसँगै बालबालिकामा खानपानजन्य स्वास्थ्य समस्या र लामखुट्टेको टोकाइबाट हुने संक्रमण बढेको छ । जल तथा मौसम विज्ञान विभागको वार्षिक जलवायु प्रतिवेदनअनुसार सन् २०२३ मा नेपालको वार्षिक अधिकतम तापक्रम औसतमा २७.९ डिग्री सेल्सियस पुग्यो, जुन अघिल्लो वर्षको औसत अधिकतम तापक्रमभन्दा ०.६ डिग्रीले बढी हो ।
सन् २०२४ योभन्दा तातो वर्ष बन्ने विज्ञहरूको आँकलन छ । जल तथा मौसम विज्ञान विभागले अधिकतम तापक्रम अघिल्ला वर्षहरूभन्दा यो वर्ष अझैं बढ्ने अनुमान गरेको छ ।
विभागले तराईका जिल्लाहरूमा तातो हावा चल्न सक्ने भन्दै पटकपटक सजगता अपनाउन आग्रह गरिरहेकोछ । मौसमविद् प्रतिभा मानन्धर अधिकतम तापक्रम ४० डिग्री नाघेसँगै हावा पनि तातो नै चल्ने बताउँछिन् । तातो हावा चल्दा दिनमात्रै होइन रातको समयमा पनि उच्च गर्मी हुने उनको भनाइ छ ।
यस वर्ष तराईका केही जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि छ । बिहीबार नेपालगन्जकोे अधिकतम तापक्रम ४४.२ डिग्री सेल्सियस मापन गरिएको थियो ।
महाशाखाका अर्का मौसमविद् गोविन्द झाका अनुसार बिहीबार साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रमले ‘रेकर्ड’ ब्रेक गर्दै यो वर्षकै सबैभन्दा बढी गर्मी भयो । उनका अनुसार हिजो दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगन्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।
यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहीबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।
तापक्रम वृद्धिको प्रत्यक्ष असर जनजीवनमा परेको छ । विशेष गरी यस्तो बेला बालबालिका, बृद्धबृद्धा र विरामीको स्वास्थ्य उच्च जोखिममा रहन्छ । तराईका नेपालगन्ज, कैलाली, दाङ र चितवनलगायतका जिल्लाहरूमा अत्यधिक गर्मी बढेपछि एक साताका लागि सो क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् ।
बालबालिकामा गर्मीका कारण समस्या भएको कसरी थाहा पाउने ? कसरी जोगाउने ?
अत्यधिक गर्मीका कारण बालबालिकाहरूमा धेरै थकान हुने, हातखुट्टा फर्किनेजस्ता असररहरू देखिन सक्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस्ता लक्षण देखिए बालबालिकालाई तुरुन्तै अस्पताल पु¥याउनुपर्छ । मन्त्रालयका अनुसार यदि सामान्य असर देखिएमा यस्तो किन भइरहेको छ भन्नेबारे प्रस्ट बुझाएर नआत्तिन र नडाराउन प्रेरित गर्नुपर्छ । गर्मीमा बालबालिकालाई हलुका र फिक्का रंग भएको कपडा लगाइदिनुपर्छ ।
बालबालिकामा असर हुन नदिन बेलाबेलामा पिसाब गरे÷नगरेको ख्याल गर्नुपर्छ । गाढा पहेँलो पिसाब भए पानी नपुगेको भन्न सकिन्छ । यस्तो अवस्थामा उनीहरूलाई पर्याप्त पानी र झोलिलो खाने कुरा खुवाउनुपर्छ ।
अत्यधिक गर्मीको असरबाट जोगिन सबै उमेर समूहका व्यक्तिमा मुटुको चाल तीव्र हुने, श्वासप्रश्वासमा समस्या हुने, रक्तचाप कम हुने, अधिक टाउको दुख्ने, चक्कर लाग्नेजस्ता समस्या देखिन सक्छन् । यस्ता ण्लक्षण देखिए तत्काल बिरामीलाई अस्पताल पु¥याउनुपर्छ ।
गर्मीयाममा पर्याप्त पानी पिउने, कागती पानी, नरिवलको पानी तथा फलफूलको रस, काँक्राजस्ता खानेकुरा खानु स्वस्थकर हुन्छ । चिया, कफी, सोडाजस्ता खानेकुरा गर्मीमा नखान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सुझाव छ ।जनस्वास्थ्यविद् डाक्टर अरूणा उप्रेती घाममा बालबालिकालाई सकेसम्म घर बाहिर खेल्न नपठाउन र खाली पेटमा कोही पनि घरबाहिर ननिस्कन सुझाव दिन्छिन् ।
यस्तो गर्मीमा मही, फलफूलको जुस, कागती र सख्खर मिसाई बनाइएको सर्बत, सातुजस्ता खानेकुरा बालबालिकालाई दिइरहन र गर्मीबाट हुन सक्ने सम्भावित जोखिमबाट जोगाउन डाक्टर उप्रेतीको अनुरोध छ ।
तातोहावा ‘लू’ का असर तथा लक्षण
१. हृदयको गति तीव्र हुने,
२. श्वासप्रश्वास र रक्तचाप कम हुने,
३. शरीरबाट पसिना ननिस्कने,
४. टाउको अत्याधिक दुख्ने,
५. चक्कर लाग्ने, अचेत हुने,
६. १०४ डिग्री फरेनहाइट भन्दा बढी ज्वरो आउने,
७. छाला सुख्खा, रातो र तातो हुने,
यस्ता असरहरु देखिएमा तुरुन्त नजिकैको अस्पताल जाओैं ।
तातो हावा ‘लू’ बाट जोगिने उपाय
१. सकेसम्म दिउँसो घरबाट बाहिर ननिस्कने,
२. निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओड्ने,
३. फलफूलको रस र पानी प्रशस्त पिउने,
४. धेरै पसिना आएमा जीवनजल पिउने,
५. चिसो पानीले नुहाउने,
६. कामकाज सकभर बिहान वा बेलुका गर्ने,
७. मदिरा सेवन नगर्ने,
८. सकेसम्म चिया, कफी, सोडा जस्ता पेय पदार्थ नपिउने
गर्मीयाममा लाग्नसक्ने रोगबाट बचौं र बचाऔं
१. पर्याप्त मात्रामा पानी वा झोलिलो पदार्थ पिउने गरौं,
२. मौसमअनुसारका ताजा तरकारी एवं फलफूल उपभोग गरौं,
३. सडेगलेको र बासी खानेकुरा नखाऔं,
४. खुलास्थानमा असुरक्षित तरिकाले राखिएका खानेकुरा नखाऔं,
५. धेरै अमिलो, चिल्लो र मसलेदार खाना नखाऔं,
६. घर बाहिर हिँड्दा शरीर ढाक्ने गरी लुगा लगाऔं,
७. घर, आँगन र आसपासको क्षेत्र सफा राखौं,
८. व्यक्तिगत सरसफाईमा ध्यान दिऔं ।