प्रेस युनियन बलियो बनाउन प्रशिक्षण


सेतोखरी सेतोखरी   सोमबार, जेठ २१, २०८१
प्रेस युनियन बलियो बनाउन प्रशिक्षण

नेपालगन्ज २१ जेठ : नेपाल प्रेस युनियन बाँके शाखाको प्रशिक्षण भेला सोमबार सम्पन्न भएको छ । भेलामा सहभागि भएका प्रेस युनियनकर्मीहरुलाई विभिन्न तीन वटा विषयमा प्रशिक्षण दिइएको छ । 

नेपाल प्रेस युनियन : पत्रकार महासंघको सम्बन्धका विषयमा नेपाल प्रेस युनियनका परामर्र्श समिति सदस्य तथा नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यसमितिका पूर्व उपसभापति हेमन्त कर्माचार्य, नेपाल प्रेस युनियनको संरचना र सांगठनिक अवस्थाका विषयमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिका महासचिव नवीन गिरी र नेपाल प्रेस युनियन र पार्टी बीचको सम्बन्धका बिषयमा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य तथा नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा चन्दले प्रशिक्षण दिएका थिए । ती प्रस्तुतीकरणमा नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्वअध्यक्ष नीरज गौतमले टिप्पणी गरेका थिए ।

नेपाल प्रेस युनियन बाँके शाखाको आयोजना तथा नेपाली काँग्रेस प्रशिक्षण शाखा बाँकेको समन्वयमा आयोजित उक्त भेला नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षता तथा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । 

सो क्रममा पार्टी सभापति गौडेलले प्रेस युनियन बलियो भयो भने पार्टी पनि बलियो हुने भएकाले आफ्ना गतिविधिहरुलाई क्रियाशील र चलायमान गराउन निर्देशन दिए । उनले काँग्रेसको शुभेच्छुक संगठन प्रेस युनियनजस्तै अन्य भातृ तथा शुभेच्छुक संगठनहरुलाई पनि गतिशील र चलायमान हुन निर्देशन समेत दिए । उनले प्रेस युनियन लोकतन्त्रवादी पत्रकारहरुको छाता संगठन भएको स्मरण गराउँदै पार्टी र युनियनबीचको सम्बन्ध मजबुत हुनुपर्ने बताए ।

Kanti Aarogya Hospital Nepalgunj

प्रशिक्षण शाखा प्रमुख समेत रहे पार्टी उपसभापति गोपाल प्रसाद अधिकारीले प्रेस स्वतन्त्रताप्रति काँग्रेसप्रतिबद्ध रहेको बताए । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि काँग्रेस सधै प्रतिबद्ध रहेको जनाए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले प्रशिक्षण भेलाले युनियकर्मीहरुलाई एक ढिक्का बनाउन प्रेरित गर्ने र यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।

उद्घाटन कार्यक्रममा काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, पार्टी सचिव शुधान्शु कोइराला, सहसचिव विनोद चौधरी, काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेश कुमार गुप्ता, युनियन बाँकेका पूर्व अध्यक्ष नरेन्द्र थापा, निर्वतमान अध्यक्ष अर्जुन ओली, युनियन नेता विजय बर्मा र निर्वतमान सचिव विजय मल्ल लगायतको उपस्थिति रहेको थियो । युनियन बाँकेका सचिव भिष्म लोधले सहजिकरण गरेको उक्त भेलाको स्वागत मन्तव्य कमल खत्रीले व्यक्त गरेका थिए ।