नेपालगनज २० जेठ : अभिभावकले आफ्ना बालबालिकालाई जङ्क फुड दिनु अपराध गरेको पोषणविद् डाक्टर अरुणा उप्रेतीले बताएकीछन् ।
नेपाली परम्परागत खानाले नै स्वस्थकर जीवन निर्वाह गर्न सकिने भन्दै डाक्टर उप्रेतीले भनिन्–‘आफ्ना बालबालिकालाई विस्कुट, चाउचाउ, चकलेट, कोलड्रिङकस लगायतका जङ्क फुड खुवाईरहेकाछन् । यसले बालबालिकाको स्वास्थ्यमा दीगोरुपमा असर गरिरहेकोछ । त्यसैले बालबालिकालाई कुनैपनि जङ्क फुड दिनुभनेको अपराध हो । यसमा बेलैमा सचेत र सजग हुनुपर्छ ।’
डाक्टर उप्रेतिले पछिल्लो समय गर्भावस्तादेखि नै स्वस्थकर खाना नखाँदा त्यसले दीर्घकालीन रूपमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्त्याउने गरेको बताइन् ।
‘गर्भावस्थादेखि आमाले खाने खानेकुरा, बच्चा जन्मेपछि उसलाई खुवाउने खानेकुरा, बच्चा हुर्कने वातावरण बालबालिका मैत्री नहुने हो भने सानै उमेरमा नै मानसिक स्वास्थ्य समस्या निम्तिन सक्छ’, उनले अगाडी भनिन्, ‘जङ्क फुडको उपभोग, बालबालिका तथा किशोरकिशोरी प्रविधिको प्रयोग गरेर खेल्ने विभिन्न खेलहरू पनि मानसिक स्वास्थ्यका लागि चुनौति हुन् ।’
‘अभिभावकले पनि घरमै खानेकुरा बनाउने भन्दा जंङ्कफुडहरू बालबालिकालाई दिंदा त्यसले शारीरिक र मानसिक स्वास्थ्यमा असर पु¥याउँछ’, उनले भनिन्, ‘अभिभावक, चिकित्सक र उमेर पुगेका मानिसहरू भ्रमपूर्ण रूपमा गरिने विज्ञापनको प्रभावमा पर्नुहुँदैन ।’ बालबालिका उमेरमै मानसिक स्वास्थ्य समस्या देखिनुमा विभिन्न कारणहरू रहेको डा. उप्रेतिले बताइन् ।
डाक्टर उप्रेतिले सानै उमेरमा बच्चाको टेलिभिजन, सामाजिक सञ्जाल हुने पहुँच कारण त्यसमा प्रदर्शन गरिने विज्ञापनले पनि बच्चाले खान नहुने अस्वस्थकर खानेकुरामा बालबालिका आकर्षित हुने गरेको बताइन् ।
‘मस्तिष्कको, चेतनाको विकास भैरहेका बेला सही गाइडलाइन नहुँदा बालबालिकाले स्वास्थ्य समस्या झेल्नु परेको अवस्था पाइन्छ’, उनले भनिन्–‘मानसिक स्वास्थ्य समस्याको पहिचान समयमै हुने हो भने सामान्य समस्या परामर्श र जटिल समस्याहरू उपचारबाट निको हुनसक्छ, केही जटिल समस्याहरू बढ्न पाउँदैनन् ।’
यसैबीच, ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीले नेपालगन्जमा बाँके, बर्दियाका सञ्चारकर्मीका लागि आयोजना गरेको मानसिक स्वास्थ्यः आम सञ्चारको भूमिका विषयक छलफल गरिएकोछ ।
उक्त कार्यक्रममा डाक्टर उप्रेति र मनोसामाजिक परामर्शकर्ता सुदीपा ढुंगानाले मानसिक रूपमा स्वस्थ हुन पोषण युक्त खानाको महत्व, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको लक्षण पहिचान गरी परामर्श र उपचारले स्वस्थ हुन सक्ने अवस्थाबारे जानकारी दिंदै लक्षण पहिचान कसरी गर्ने भन्नेबारे बताएका थिए । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्य बिग्रदाको लक्षण, स्वस्थकर पोषण युक्त खानेकुरा, योगविधि लगायतका बारेमा जिज्ञासा राखेका थिए ।