सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

समयमा वर्षा नहुँदा धानको बीउ राखिएन, बर्खेबाली प्रभावित बन्ने आँकलन


विजय मल्ल विजय मल्ल   बुधबार, जेठ २३, २०८१
सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

डिप बोरिङबाट सिचाई गरि धानको बीउ (ब्याड) राख्दै किसान ।

नेपालगन्ज २३ जेठ : सिचाइको प्रचुर उपलब्धता विना आकाशे पानीको भरमा खेती गर्ने बाँकेका किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निरास बनाएकोछ । बाँकेका किसानलाई धानको बीउ (ब्याड) राख्ने चटारोले छपक्कै छोपेको बेला पानी पर्नुको साटो गर्मी झन्–झन् बढ्दै गएपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानको आँकल छ ।

लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण बाँकेमा बर्खेबाली प्रभावित बन्ने भएको छ । यतिबेला धमाधम धानको बीउ राख्ने बेला भए पनि वर्षा र उचित सिँचाईको अभावका कारण बाँकेका कृषकले बीउ राख्न नपाएका हुन् । विगतका वर्षमा जिल्लाका अधिकांश क्षेत्रमा अहिलेसम्म धानको बीउ राखि सकिन्थ्यो । तर, यस वर्ष भने धानको बीउ राख्न सकिएको छैन । उपलब्ध सिचाँईको प्रयोग गरेर राखिएको धानको बीउ प्रचण्ड गर्मीका कारण सुक्न थालेकोछ । खेत चिराचिरा पर्न थालेकोछ ।

लामो समयदेखि वर्षा नभएका कारण जेनतेन गरि राखिएको धानको बीउ सुक्न थालेको छ भने मकैलगायत खेतबारीमा लगाएका अन्य गेडागुडी खेतीसमेत ओइलाउन थालेको छ । सिँचाइको सुविधा भएका ठाउँमा समेत खोलानाला सुकेका कारण समयमै बीउ राख्न र रोपाइँ गर्न समस्या भएको राप्तीसोनारी–५ का सुमन थारुले बताए । यस वर्ष समयमै रोपाइँ गर्न नपाइने भयो । पछिल्ला केही दिनयता तापक्रमसमेत ह्वात्तै बढेका कारण लगाएका बालीनालीसमेत ओइलाउँदै गएको उनले बताए । 

यस्तै बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका किसान जितेन्द्र पुन यतीबेला आफूहरुलाई ब्याड राख्ने, खेत खनजोत गर्ने कामको चटारो भएको बताए । धानको बीउ राख्ने बेला पानी उपलब्ध हुन नसक्नुले पानीको अभावमा धान खेती प्रभावित हुने पुनले बताउँछन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

बाँकेको मुख्य बाली धान भए पनि सिँचाइको प्रयाप्त सुविधा नभएपछि अधिकांश किसानहरु आकासे पानीको भरमा खेती गर्दै आएका छन् । त्यसो त सिँचाइ सुविधा भएका केही किसानहरुले धानको ब्याड यसअघि राखिसकेका छन् । भने सिचाईको व्यवस्था भएका बाँकेका केही गाँउपालिकाका किसानले रोपाईँको तयारी गरिरहेका छन् ।

बाँकेका केही सिमित जग्गामा मात्रै बोरिङको पानी र सतह सिँचाइमार्फत रोपाइँ हुने गरेको छ । ‘हामीले डिप बोरिङबाट पानी तानेर धानको ब्याड राखेका छौं । अब रोप्नका लागि खेतबारी खनजोत गरिरहेका छौं,’ खजुरा गाउँपालिका सैनिक गाउँका किसान भीमबहादुर बुढाले भने, ‘मनसुन समयमै सुरु नभएपछि धानको बीउ सुक्न थालेकोछ । खेतको जमिन समेत चिरा परेकोछ ।’

कृषि ज्ञान केन्द्र बाँकेले लामो समयदेखि वर्षा नहुँदा बाँकेमा धानको ब्याड नै राख्न नपाएको जनाएको छ । मौसम सक्रिय नभएसम्म रोपाइँ गर्न नपाउने भएपछि कृषक समस्यामा परेका छन् ।  कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकिल अहमद खाँले वर्षा हुन ढिलाइ भएकाले जिल्ला पुरै सुक्खा हुने चिन्ता यहाँका किसानलाई पर्न थालेको बताए । उनले सिँचाइको उपलब्धता बिना आकाशे पानीको भरमा खेती गर्ने किसानलाई पछिल्लोपटक बढ्दै गएको गर्मीले निराश बनाएको बताए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमद खाँले सिक्टा सिँचाइ आयोजनाले बाँकेको महादेवपुरी, राप्तिसोनारी र बैजनाथमा पानी छोडे पनि त्यो किसानका लागि पर्याप्त नहुने बताए ।

यता राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको पानीले यस वर्ष बाँके जिल्लाको २० हजार २०० हेक्टर जमिनमा सिँचाइ पुगेको छ । आयोजनाको पश्चिमी नहरबाट १६ हजार र पूर्वी नहरबाट चार हजार २०० गरी २० हजार दुई सय हेक्टर जमिनमा सिँचाइ पुगेको सिक्टाले जनाएको छ ।

बाँकेमा धान रोपाइँ हुने कुल ३६ हजार ५०० हेक्टर खेतीयोग्य जमिन छ । गतवर्ष पनि सोही क्षेत्रफल खेतमा धान खेती गरिएको थियो । अहिले पनि सबै क्षेत्रफलमा धान खेती हुने अनुमान रहेको केन्द्रले जनाएकोछ ।  यो महिनाको अन्त्य वा असार महिनाको पहिलो सातासम्म मनसुन सक्रिय भएमा उत्पादनमा भने असर नहुने र रोपाइँ गरिसकेपछि साउन र भदौमा समेत निरन्तर वर्षा भएमा धान, कोदो, मकै लगायतका उत्पादन राम्रो हुने केन्द्रको भनाईछ ।