बाँकेको ४ अर्ब बढीको बजेट, कुन पालिकाको कति ?

सबैभन्दा बढि नेपालगन्ज र सबैभन्दा कम जानकीको बजेट


सेतोखरी सेतोखरी   बुधबार, जेठ २३, २०८१
बाँकेको ४ अर्ब बढीको बजेट, कुन पालिकाको कति ?

नेपालगन्ज २३ जेठ : संघीय सरकारले ल्याएको बजेटमा यस वर्ष बाँकेले ४ अर्ब २० करोड बढि बजेट पाएकोछ । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बाँकेले कुल ४ अर्ब २० करोड २५ लाख बजेट पाएको हो ।

बाँकेको एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिकाका लागि उक्त बजेट विनियोजन भएको हो । यो चालु आर्थिक वर्षको कुल बजेट भन्दा २७ करोड बजेट बढि हो । चालु आर्थिक वर्ष २०८०/०८१ मा बाँकेले कुल तीन अर्ब ९३ करोड ३५ लाख बजेट पाएको थियो ।

बाँकेले कुल ४ अर्ब २० करोड २५ लाख बजेट अनुदान पाएकोछ । चालुतर्फ तीन अर्ब ७३ करोड ४९ लाख र पुँजीगत तर्फ ४६ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको छ। 

जसमा आठ स्थानीय तहलाई समानीकरण अनुदान तर्फ एक अर्ब २७ करोड ७५ लाख, सशर्त तर्फ दुई अर्ब ७३ करोड २५ लाख, विशेष तर्फ १३ करोड पाँच लाख, समपूरकतर्फ छ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ।

Kanti Aarogya Hospital Nepalgunj

यो पनि पढ्नुहोस् यस वर्ष बाँकेले २२ करोड ३८ लाख कम बजेट पायो

बाँकेको ४ अर्ब बढीको बजेट सिलिङ्गमा कुन पालिकाको कति ?

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकालाई विनियोजन गरिएको छ। भने सबैभन्दा कम जानकी गाउँपालिकाले बजेट पाउने भएकोछ । 

नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकाका लागि कुल ९१ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। जसमा सशर्त अनुदान ६१ करोड २० लाख, वित्तीय समानीकरण २७ करोड ९५ लाख, विशेष अनुदान एक करोड ५० लाख र समपूरक अनुदान एक करोड रहेको छ। चालु आर्थिक वर्षमा नेपालगन्जले ८८ करोड ३८ लाख बजेट पाएको थियो ।

कोहलपुर नगरपालिका

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५६ करोड ७५ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३७ करोड २४ लाख, वित्तीय समानीकरण अनुदान १८ करोड ९६ लाख, समपूरक अनुदान ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । कोहलपुरले चालु आर्थिक वर्षमा कुल ५३ करोड ४३ लाख बजेट पाएको थियो ।

चालु आर्थिक वर्षमा ५२ करोड २६ लाख बजेट पाएको खजुरा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड १३ लाख पाउने भएकोछ । जसमा सशर्त अनुदान ३५ करोड ७० लाख, वित्तीय समानीकरण १४ करोड ९३ लाख, विशेष अनुदान ५० लाख रहेको छ।

बैजनाथ गाउँपालिका

त्यस्तै, चालु आर्थिक वर्षमा ४८ करोड ७५ लाख बजेट पाएको बैजनाथ गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ५३ करोड ४९ लाख विनियोजन गरिएको छ। जसमा सशर्त ३६ करोड ७ लाख, वित्तीय समानीकरण १५ करोड ४२ लाख, विशेष अनुदान दुई करोड विनियोजन गरिएको छ।

जानकी गाउँपालिका

चालु आर्थिक वर्षमा ३१ करोड २४ लाख बजेट पाएको जानकी गाउँपालिकालाई ३३ करोड ६६ लाख रुपैयाँ प्रदान गरिने भएकोछ । जानकीले सशर्त तर्फ १९ करोड ७७ लाख, वित्तीय समानीकरण तर्फ ११ करोड ९९ लाख, विशेष तर्फ ९० लाख र समपूरक तर्फ एक करोड रुपैयाँ प्राप्त गर्ने छ। 

डुडुवा गाउँपालिका

यसैगरी चालु आर्थिक वर्षमा ३३ करोड ७३ लाख बजेट पाएको डुडुवा गाउँपालिकाले ३४ करोड ८७ लाख रुपैयाँ सङ्घीय सरकारबाट पाउँदैछ । जसमा सशर्त तर्फ २० करोड २३ लाख, वित्तीय तर्फको ११ करोड ६४ लाख विशेष दुई करोड र समपूरक तर्फ एक करोड रुपैयाँ रहेको छ।

राप्तीसोनारी गाउँपालिका

आगामी आर्थिक वर्षका लागि राप्तीसोनारी गाउँपालिकाका लागि ५६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएकोछ । जसमा सशर्त तर्फको ३६ करोड ४७ लाख वित्तीय समानीकरण १५ करोड ८९ लाख, विशेष अनुदान दुई करोड ८० लाख, समपूरक १ करोड ३० लाख रहेको छ। चालु आर्थिक वर्षमा राप्तीसोनारीले कुल ५२ करोड ५० लाख बजेट पाएको थियो ।

नरैनापुर गाउँपालिका

त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ४२ करोड ३४ लाख रुपैयाँ विनियोजन गरिएको छ । नरैनापुरले २६ करोड ५७ लाख सशर्त, ११ करोड सात लाख वित्तीय समानीकरण, विशेष तर्फ तीन करोड ३५ लाख र समपूरक तर्फ एक करोड ३५ लाख रुपैयाँ बजेट रहेकोछ । चालु आर्थिक वर्षमा नरैनापुरले कुल ३३ करोड ६ लाख बजेट पाएको थियो ।

यो पनि पढ्नुहोस् बाँकेलाई ४ अर्ब १५ करोड ७३ लाख बजेट