नेपालगन्ज २६ जेठ : बाँके जिल्लाको राप्ती नदी तटीय क्षेत्रको स्थलगत अनुगमन गरिएकोछ । बाँके जिल्लाका सुरक्षा प्रमुखसहित विपत् व्यवस्थापन समिति बाँकेको एक टोलीले बाढी र डुबानबाट बर्सेनि प्रभावित हुने गरेको राप्ती नदीको तटीय क्षेत्रको अनुगमन तथा निरीक्षण गरेको हो ।
विपत् व्यवस्थापन समितिका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा रहेको सो उच्चस्तरीय टोलीले शुक्रबार राप्ती नदीको तटीय क्षेत्रको अनुगमन ग¥यो ।
नरैनापुर गाउँपालिका वडा नम्बर–६ मा पुगेको सो टोलीसमक्ष स्थानीयले वर्षा आउन केही साता मात्र बाँकी रहेको भए पनि अझैसम्म भत्किएको राप्ती नदीको तटबन्धको मर्मतसम्भार र पुनर्निर्माण नगरिएकाले फेरि पनि बाढीबाट डुबान हुने र आफूहरूको बिचल्ली हुने गुनासो गरे ।
सो अवसरमा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले तटबन्ध भत्किएको वर्षौं हुन लाग्दा पनि सरकारले ध्यान नदिँदा यस क्षेत्रका बासिन्दामा दिनदिनै त्रास र डरसँगै आक्रोश पनि बढ्दै गएको बता।
‘यस क्षेत्रका बासिन्दालाई भोट बैङ्क मात्र बुझ्ने गरिएको छ, वर्षाको मौसम केही दिन मात्र बाँकी छ तर अहिलेसम्म कसैले तटबन्धका लागि पहल गरेको छैन, गाउँभरि डुबानको त्रास छाइसकेको छ,’ अध्यक्ष शाहले थपे ।
उनका अनुसार बाँकेको राप्तीसोनारी–७, फत्तेपुरमा निर्मित तटबन्ध भत्किँदा राप्तीसोनारी–७, फत्तेपुर र नरैनापुर–६, गङ्गापुरका करिब १० हजार मानिस डुबानको उच्च जोखिम रहेको र सयौँ बिघा खेतीयोग्य जमिन नष्ट हुने निश्चित छ । सो तटबन्ध निर्माणको पहल गरी काम अगाडि बढाइयोस् भनी पटक पटक माग गर्दा पनि सुनुवाइ नभएको स्थानीयको दुःखेसो छ ।
स्थानीयको गुनासो सुनेपछि विपत् व्यवस्थापन समिति बाँकेका संयोजक तथा प्रजिअ रिजालले वर्षाअगाबै मर्मत गराउन आफूले सक्दो पहल र प्रयास गर्ने जनाउँदै क्षति हुन नदिन गृह प्रशासनले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्ने बताए।
राप्ती नदीको तटीय क्षेत्रको अनुगमनमा प्रजिअ रिजाल, बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, अनुसन्धानका उपनिर्देशक योगेन्द्र खड्का, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह, नरैनापुर–१ का वडाध्यक्ष इसाक जोलाह, राप्ती सोनारी–७ का वडाध्यक्ष रामलखन थारूलगायत स्थानीयको सहभागिता थियो ।