माघे संक्रान्ति पर्व स्थानअनुसार भिन्न भिन्न तरिकाले मनाइन्छ । नाम र मनाउने तरिका स्थानअनुसार फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा जुधाएर रमाइलो गर्ने अनौठो चलन छ ।
सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।
माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।
सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानलगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।
हरेक वर्षको माघ १ गतेको दिनलाई माघी पर्व अर्थात् मकर संक्रान्ति पर्वका रुपमा मनाईन्छ । मङ्गलबार (आज) माघी पर्व धुमधामका साथ मनाईदैछ । माघी पर्वका अवसरमा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्वर ३ स्थित भुवरभवानी मन्दिर, दाङको रिहार, बाह्रकुने दह, प्युठानको स्वर्गद्वारी, बर्दियाको ठाकुरबाबा मन्दिर लगायत धार्मिक स्थलमा ठुलो मेला लाग्ने गर्दछ ।
मकर संक्रान्तिमा बिहानै गर्नुस् यी ५ शुभकार्य
पुस ३० गते राति सूर्यले आफ्नो राशि बदल्ने भएकाले भोलिपल्ट अर्थात माघ १ गते मकर संक्रान्ति मनाइन्छ । भारतीय ज्यातिषाचार्य पं. मनीष शर्माका अनुसार मकर संक्रान्तिमा अमृत सिद्धि, सर्वार्थ सिद्धि र रवि योग पनि रहन्छ । यी तीनै योग शुभ मानिन्छ र यसको पूजा–पाठ गर्दा शुभ फल प्राप्त हुन्छ ।
सूर्य उत्तरायण
यो मकर संक्रान्तिमा सूर्य दक्षिणायनबाट उत्तरायण हुन्छ । सूर्य मकर राशिमा गएपछि मलमास समाप्त हुन्छ । जसको कारण मांगलिक कार्य फेरि सुरु हुन्छ । सूर्य जब मकर, कुम्भ, मीन, मेष, वृष र मिथुन राशिमा रहन्छ तब यो ग्रह उत्तरायण हुन्छ । भने सूर्य कर्कट, सिंह, कन्या, तुला, वृश्चिक र धनु राशिमा रहन्छ तब दक्षिणायन हुन्छ ।
सुख र समृद्धिको लागि मकर संक्रान्तिमा गर्नुस् यी काम
– मकर संक्रान्तिमा बिहानै छिटो उठेर नुहाउँदा सबै पवित्र तीर्थस्थल र नदिका नाम जप गर्नुपर्छ । यसले घरमा तीर्थ स्थानको पुण्य मिल्छ ।
– स्नान गरेपछि अम्खोरामा (लोटा) रातो फूल राखेर सूर्यलाई पानी चढाउँदा सूर्य मन्त्र ‘ऊँ सूर्याय नमः’ १०८ पटक जप गर्ने ।
– तुलसीमा जल चढाउने र परिक्रमा गर्ने ।
– मन्दिरमा गएर चाकु वा कालो तिल दान गर्नुपर्छ । साथै भगवान्लाई तिल–चाकुको लड्डु बनाएर भोग दिने र प्रसाद वाढ्ने ।
– कुनै पनि शिव मन्दिरमा जानुहोस् र शिवलिंगमा कालो तिल चढाएर जल अर्पण गर्नुहोस् । ऊँ सांब सदा शिवाय नमः मन्त्र जप गर्नुहोस् ।