बाँकेमा रगत अभाव : नियमित रगत दाताले नै रक्तदान गर्न छाडे


सेतोखरी सेतोखरी   बिहीबार, जेठ ३१, २०८१
बाँकेमा रगत अभाव : नियमित रगत दाताले नै रक्तदान गर्न छाडे

नेपालगन्ज ३१ जेठ : बाँकेमा रगत अभाव हुँदा रगतको माग पूरा गर्न  हम्मे हम्मे भएकोछ । रक्तदानको भरमा रहेको ब्लड बैङ्कमा माग अनुसार रगत नहुँदा बिरामी छटपटाईरहेकाछन् । नियमति रक्तदान नहुनु र माग बमोजिमको रगत व्यवस्थापन नहुँदा बिरामीका आफन्तले नै रगतको व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ  ।

पछिल्लो दिन अत्यधिक तापक्रम बृद्धि भएसंगै बाँकेमा नियमित रगत संकलनको कार्य प्रभावित बनेको छ, जसका कारण बिरामी र उनका आफन्तले सास्ती भोग्नुपरेकोछ । तीन प्रदेशको स्वास्थ्य हबका रूपमा परिचित बाँकेमा पछिल्लो समय रगत अभाव खड्किएपछि रक्त सञ्चार केन्द्रले माग बमोजिम रगत उपलब्ध गराउन हम्मे हम्मे भएको हो ।

दिनुहुँ बढ्दो तापक्रमका कारण नियमित रगतदाता स्वयमले रगत दान नगर्दा उपलब्ध मौज्दातबाटै सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेकोछ । पछिल्लो समय बाँकेमा अत्यधिक गर्मी र ४४ डिग्रीसम्म पुगेको तापक्रमका कारण रक्तदान हुने क्रम घटेपछि हाल आएर रगत अभाव झनै चर्किएको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार प्रचण्ड गर्मीकै कारण बिरामी थपिँदा रगतको माग पनि बढ्दै गएको बेला रक्तदान घटेकाले रगत पु¥याउनै समस्या भइरहेको हो । हाल रक्तसञ्चार केन्द्रमा विभिन्न समुहका १५० पिन्टको हाराहारीमा मात्रै रगत मौज्दात रहेको छ । उनले अगाडी भने–‘खासगरी चाड पर्वका बेला र अत्यधिक गर्मीका बेला रक्तदानमा हुने कमीले माग र आपूर्तिको सन्तुलन बिग्रने गरेकाछ । जसका कारण रगतको माग पूरा गर्न हामीलाई हम्मे हम्मे परेको हो ।’

Kanti Aarogya Hospital Nepalgunj

बिरामीका आफन्तले आफैँ रगत खोज्न जानुपर्ने हुँदा कतिपय अवस्थामा रगत पाउन धेरै समय लाग्ने गरेकाले बिरामीको अवस्था झन् गम्भीर हुने गरेको चिकित्सकहरूको भनाईछ ।

थालेसिमिया, सिकलसेल, डायलासिस गराइरहेका बिरामीलाई समेत नियमित रूपमा रगत उपलब्ध गराउनुपर्ने भएकाले पनि नियमित रगतको माग अत्यधिक रहेको रक्तसञ्चार केन्द्रले जनाएको छ । कुनै ठुलो घटना भइहालेमा आवश्यक रगत आपूर्तिका लागि रक्तसञ्चार केन्द्रमा अहिले रगतको पर्याप्त स्टक नरहेकाले चिन्ता बढेको केन्द्रका प्रमुख रेग्मीले बताए ।

उनले भने, ‘रगत माग हुँदा स्टक अभावले बिरामीका आफन्तलाई नै ल्याऊ भन्नुपरेको बाध्यता छ, आवश्यकता बमोजिम रक्तदानका कार्यक्रम नहुँदा बिरामीका आफन्तले नै सट्टा रगतको व्यवस्था गरिरहेकाछन् । ’

रक्तसञ्चार केन्द्रमा रगतको उपलब्धता नहुँदा सामाजिक सञ्जालमा समेत रक्तदानका लागि पटक–पटक आह्वान गर्ने गरिएको छ । बाँकेमा कम्तीमा एक हजार पिन्ट रगत स्टकमा हुने हो भने समस्या नहुने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ ।

नेपालगन्जस्थित ब्लड बैङ्कमा हाल तीन हजार पिन्ट बढी रगत स्टक गर्ने सक्ने क्षमता विस्तार गरिएपनि त्यस अनुसार रक्तदान नहुँदा आपूर्तिमा समस्या हुने गरेको छ । नेपालगन्ज, खजुरा र कोहलपुर गरी बाँकेमा दैनिक कम्तीमा ८० देखि १०० पिन्ट रगत माग हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । सो माग पुरा गर्न दिनहुँ सोही मात्रामा रगत सङ्कलन हुनुपर्छ ।

नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रले नेपालगन्ज, कोहलपुर र खजुराका अस्पतालहरूमा रगत उपलब्ध गराउँदै आएको छ । रक्तसञ्चार केन्द्रका अनुसार केन्द्रले आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार ७८७ पिन्ट रगत वितरण गरेको थियो भने २०७९/०८० मा १८ हजार ७५७ पिन्ट रगत वितरण गरेको थियो । सोही प्रकारले चालु आर्थिक वर्षको वैशाख महिनासम्म १५ हजार १९ पिन्ट रगत वितरण गरिसकेको छ । यो तथ्याङ्कले पनि हरेक वर्ष रगतको माग बढ्दै गएको पुष्टि गरेको छ ।

यसैबीच, बाँकेमा देखिएको रगत अभाव र यसबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न शुक्रबार बृहत रक्तदान गरिदैंछ । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ नेपालगन्जले उक्त बृहत रक्तदान कार्यक्रम गर्न लागेको हो ।

विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३२ गते शुक्रबार नेपालगन्जस्थित स्वस्तिक कटेजमा संघले बृहत रक्तदान कार्यक्रम गर्न लागेको अध्यक्ष शिवप्रसाद दाहालले जानकारी दिए ।  अध्यक्ष दाहालका अनुसार रगत अभाव हुन नदिने उद्देश्यले उक्त रक्तदान गरिदैंछ । कम्तिमा एक सय पिन्ट रगत संकलन गर्ने गरि बृहत रक्तदान कार्यक्रमको तय गरिएकोछ । 

नेपालगन्ज सुर्खेतरोड स्थित स्वस्तिक कटेजमा यही जेठ ३२ गते शुक्रबार विहान साढे ८ बजेदेखि रक्तदान गरिदैँछ । उक्त रक्तदानमा बढि भन्दा बढि रक्तदाताको सहभागिताका लागि आमरुपमै सबैलाई आह्वान समेत गरिएको संघका अध्यक्ष दाहालले जानकारी दिए ।