बाँकेसहित पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने


सेतोखरी सेतोखरी   शुक्रबार, जेठ ३२, २०८१
बाँकेसहित पश्चिम तराईका जिल्लामा असार २ गतेसम्म तातो हावा चल्ने

नेपालगन्ज ३२ जेठ : बाँके सहित मध्य र पश्चिमी तराईका भूभागमा आगामी असार २ गतेसम्मै अत्यधिक गर्मी कायम रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै जेठ ३२ गतेदेखि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना औंल्याएको हो । त्यसको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशमा मनसुन सक्रिय छ । मधेश र बागमती प्रदेशमा पनि केही शीतल महसुस हुने गरेको छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराईका भूभागमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । ती स्थानहरुमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

महाशाखाका अनुसार बाँके, दाङ, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी हुने भएको हो । यस वर्ष सरदर मिति (जुन १३) भन्दा तीन दिन अघि नै कोशी प्रदेशमा मनसुनी प्रणाली भित्रिएको थियो । बेलाबेला पानी परिरहेकाले कोशी प्रदेशका जिल्ला शीतल छन् ।

Kanti Aarogya Hospital Nepalgunj

बाढी पूर्वानुमान महाशाखाले कोशी प्रदेशका नदीहरुमा बाढी आएर जलसतह बढ्ने सूचना नै जारी गरेको छ । यता नेपालको पश्चिमी क्षेत्रमा मनसुन सक्रिय हुन अझ केही दिन अरु लाग्ने महाशाखाले जनाएकोछ ।