निर्धन उत्थानको स्वास्थ्य शिविरः तीन जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण भेटियो


सेतोखरी सेतोखरी   आइतबार, असार २, २०८१
निर्धन उत्थानको स्वास्थ्य शिविरः तीन जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण भेटियो

कोहलपुर २ असार : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परीक्षण शिविरबाट कुल ४ सय ४४ जनाले सेवा लिएका छन् ।

प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर–९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री रोग र जनरल स्वास्थ्य परीक्षण गरियो ।

स्वास्थ्य परीक्षणका क्रममा एक सय ९५ जना महिलाले पाठेघर मुखको परीक्षण गराए, भने ८२ जना महिला र पुरुषले सुगर परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गराउन आएका मध्येबाट ३ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका वरिष्ठ ब्यवस्थापक तथा प्रतिस्ठानका संस्थापक जिताराम गौतमले जानकारी दिए ।

यो पनि पढ्नुहोस् निर्धन समुह सदस्यको निःशुल्क स्वास्थ्य परीक्षण

Kanti Aarogya Hospital Nepalgunj

गतवर्ष पनि सञ्चालन गरिएको शिविरमा २ सय ९४ जनाले स्वास्थ्य परीक्षण गराएकोमा २५ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको थियो । प्रतिष्ठानले नियमित स्वास्थ्य परीक्षण गर्ने संस्कारलाई विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षपनि उक्त कार्यक्रम राखेको हो । सो क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कविता पाण्डे, वरिष्ठ फिजिसियन डा. श्याम बिक, स्त्रीरोग विशेषज्ञ डा. होमराज अधिकारी, डा. देवेन्द्र आचार्य लगायतले स्वास्थ्य परीक्षण गरे । 

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा आवद्ध समुह सदस्य तथा आम सर्बसाधारणका लागि उक्त स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक जनार्दन देव पन्त, कोहलपुर नगरपालिका वडा नम्बर–९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगी, स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक पन्तले स्वास्थ्यमा असाध्यै ध्यान दिन जरुरी बताए । सर्बसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्धन उत्थान स्वास्थ्य प्रतिष्ठान सुरु गरेको प्रष्ट्याउँदै भने, ‘यो संस्थाले पछि सबै देशबासीलाई सहयोग गर्न सकोस्, हामीले हाम्रो स्वास्थ्यलाई एक पटक चेकअप गरेर पुग्दैन, हरेक ६÷६ महिना अथवा वर्षमा एक पटक भएपनि स्वास्थ्य चेकअप गर्न जरुरी छ ।’ समयमै औषधी उपचार गरेमा रोगबाट बच्न सकिने पन्तले बताए । आम जनसमुदायको स्वास्थ्यमा सुधार ल्याउनु नै प्रतिष्ठानको उद्देश्य भएको उनको भनाई छ । 

प्रतिष्ठानले यस क्षेत्रमा क्लिनिकल सेवा, घुम्ती शिविर, बिद्यालयमा स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रम, प्रयोगशाला सेवा, निःशुल्क स्वास्थ्य शिविर चलाएर आम सर्बसाधारणमाझ स्वास्थ्य सेवा पुर्याइरहेको छ ।