नेपालगन्ज २ असार : गत जेठ २८ गते नेपाल भित्रिएको मनसुन यतिबेला पूर्वी नेपालमा रोकिएकोछ । स्थानीय वायु, पश्चिमी वायु र भारतको बिहार आसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण मनसुन फैलिन ढिलाइ भइरहेको बेला अत्यधिक गर्मीले उकुुसमुकुस भएका पश्चिम तराईका बासिन्दाले असार ६ गतेसम्म चर्को गर्मीको सामना गर्नुपर्ने भएको छ ।
सदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा यही असार ६ गतेसम्म तातो हावाको लहर चल्ने प्रक्षेपण गरिएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै असार ३ गतेदेखि ६ गतेसम्म तातो हावा तथा तातो हावाको लहर चल्ने जानकारी दिएको हो ।
यसअघि तीन दिनको मात्रै मौसम पूर्वानुमान गर्दै आएको महाशाखाले तातो हावाको लहरको यो पूर्वानुमान भने चार दिनसम्म गरेको छ ।
तातो लहर अर्थात् हिट वेभका असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । लामो समयदेखि पानी नपर्दा पश्चिम नेपालका तराई तथा भित्री मधेशबासी सुख्खा र खडेरीको मारमा परेका छन् ।
यतिबेला लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा गर्मी उच्च छ । उच्च गर्मीका कारण पश्चिम नेपालको जनजिवन झन् कष्टकर हुँदै गएको छ । विभिन्न स्वास्थ्य सम्बन्धि समस्या समेत देखिन थालेकोछ । अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन् ।
यसैबीच, उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो । खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार शुक्रबार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भए ।
खजुराको धनौलीमा बेहोस भएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले जानकारी दिए । यस्तै नेपालगन्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले जानकारी दिइन् ।
गिरीलाई उपचारका लागि भेरी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालले बताइन् । यतिबेला नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेकाछन् ।