नेपालगन्ज ३ असार : नेपालगन्ज उपमहानगरपालिकामा ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गरिदैँछ । रोजगारी प्रबद्र्धन गर्न नेपालगन्ज उपमहानगरपालिकाले ‘मेयरसँग रोजगारदाता’ कार्यक्रम सुरु गर्न लागेको हो ।
आगामी आर्थिक वर्षदेखि सुरु गरिने यो कार्यक्रमका विषयमा नेपालगन्जका उद्योगी व्यवसायीसंग छलफल तथा अन्तरक्रिया समेत गरिएको छ । उद्योग व्यवसायमै तालिम दिएर कामदार पदस्थापन गर्ने लक्ष्यका साथ आगामी बजेटमा यो कार्यक्रम समेटिदैछ ।
नेपालगन्ज उपमहानगरपालिका रोजगार सेवा केन्द्रको आयोजना तथा नेपालगन्ज उद्योग बाणिज्य संघसंगको सहकार्यमा गरिएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले आफ्ना लागि चाहिने अनुसारका कामदारलाई दक्ष बनाउने गरी उपमहानगरपालिकाले तालिम दिएको अवस्थामा उनीहरुलाई पदस्थापन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उद्योग व्यवसायको आवश्यकतामा आधारित सीप तथा दक्षता अभिबृद्धि तालिम सञ्चालन गर्ने तथा बेरोजगारलाई त्यहीँ नै पदस्थापन गर्ने नीति लिनुपर्नेमा जोड दिइएको छ । नेपालगन्जमा भारतबाट थुप्रै श्रमिक आउने गरेको भन्दै उद्योगी व्यवसायीहरुले स्वदेशी नागरिकलाई उद्योगधन्दा वा व्यवसायको आवश्यकताका आधारमा तालिम दिने गरी योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।
‘हामीलाई आवश्यक परेको कामदारका बारेमा हामी भन्छौं, नेपालगन्ज उपमहानगरपालिकाले त्यसै अनुसारको तालिमका लागि सहजीकरण गर्नुपर्यो, उद्योगी ब्यवसायीले भने–‘त्यसो भएमा ‘अन द जब तालिम’ प्रभावकारी हुन्छ ।’
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगन्ज उद्योग बाणिज्य संघसंग सहकार्य गरेर अघि बढ्ने बताउँदै रोजगारी प्रबद्र्धन गर्ने गरी हातेमालो गर्न आह्वान गरे । विष्टले आवश्यकता पहिचान गरेर आगामी नीति तथा कार्यक्रममा समेट्ने गरी प्रस्ताव पेश गर्न पनि आग्रह गरेका छन् ।
‘उद्योगधन्दा, कलकारखाना, होटल, व्यवसाय, प्रतिष्ठानले पनि दक्ष कामदार पाउन् र बेरोजगारी घटाउने हाम्रो लक्ष्य पनि पूर्ति हुँदै जाओस भन्ने हाम्रो ध्येय हो,’ उनले भने’ ‘आउनुहोेस् हातेमालो गरौं।’ रोजगारदाता उद्योग व्यवसायको प्रबद्र्धन, बेरोजगार ब्यक्तिहरुको दिर्घकालीन रोजगारी र पालिकाको समृद्धिमा सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र प्रमुख मञ्जु ज्ञवालीले बताइन्। बेरोजगार पदस्थापनमा सम्भावना र चुनौतीहरुबारे छलफल गर्ने उद्देश्य पनि रहेको ज्ञवालीको भनाइ छ ।
त्यस क्रममा विभिन्न उद्योग, व्यवसाय, होटल तथा प्रतिष्ठानका सञ्चालकहरुले आफूहरुलाई चाहिएको कामदारको प्रकृति र संख्याबारे समेत उपमहानगरपालिकालाई जानकारी गराएको रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, अधिकृत दिपेन्द्र श्रेष्ठ, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओली लगायत उद्योगी ब्यवसायीको उपस्थिति थियो ।