बाँकेमा हावाहुरीको वितण्डता : एक महिलाको मृत्युसँगै खडैचाका ३४ घर जलेर नष्ट, विद्युत सेवा अबरुद्ध


विजय मल्ल विजय मल्ल   बिहीबार, असार ६, २०८१
बाँकेमा हावाहुरीको वितण्डता : एक महिलाको मृत्युसँगै खडैचाका ३४ घर जलेर नष्ट, विद्युत सेवा अबरुद्ध

नेपालगन्ज ६ असार : बाँकेमा गएराति आएको हुरीबतासले पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर–१४, वीरगञ्जका मीना खातुन हुन् ।

बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार कोहलपुरको हवल्दारमा हुरीबतासले पर्खाल भत्किँदा खातुनलाई च्यापेको थियो । उनले स्थानीय राम्रो इन्टरप्राइजेजलगायतमा काम गर्ने गरेको प्रहरीको भनाइ छ ।

Bidhut_line_banaudai-6-1718869954.jpg
नेपालगन्ज–कोहलपुर सडकखण्डको हवल्दारपुर स्थित पूर्वपट्टी सडकछेउ विद्युत लाईन मर्मत गर्दै विद्युत कर्मचारी । तस्विर: विजय मल्ल/सेतोखरी

यस्तै हुरीबतासका कारण जिल्लाको डुडुवा गाउँपालिका वडा नम्बर– १ खडैचामा आगलागी हुँदा ३४ खरले छाएका घर जलेका छन् । घरमा रहेका अन्नपातसमेत जलेको प्रहरीले जनाएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यसैबीच गएराति आएको हावाहुरीका कारण बाँकेका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण कैयौँ स्थानमा बिजुलीका पोलहरू ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएका कारण विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

‘गएराति साढे नौ बजेको समयमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा बिजुलीका धेरै पोल ढलेका छन्, दर्जनौँ तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।’ नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले भने ।

‘राति देखिनै हामी विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमै छौँ, नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेका छौँ, अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ ।’ उनले भने, ‘बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेका छौँ ।’

Bidhut_line_hawaldarpur-4-1718870078.jpg
नेपालगन्ज–कोहलपुर सडकखण्डको हवल्दारपुरको पूर्वपट्टी हावाले ढालेर रुखमा अडिएको विद्युतको पोल । तस्विर: विजय मल्ल/सेतोखरी

चालु भएका दुई वटा सर्किटबाट नेपालगन्जका फुल्टेक्रा, बसपार्क, एयरपोर्ट फिडरको भाटभटेनी, न्यूरोड, बागेश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विद्युत् सुचारु भएको र बाँकी दुई वटा सर्किटबाट प्रसारण हुने सदरलाइन, सुर्खेतरोड, वोर्डर साइड, विपी चोकको पश्चिम क्षेत्रलगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको उनले बताए ।

उनका अनुसार कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा र हवल्दारपुर क्षेत्रमा दर्जन बढी पोल भाँचिएर ढलेका छन् । भने कतिपय ठाउँमा रुख र सुकेका रुखका हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरू पन्छाएर पोल जडान गर्ने कार्य तिव्र पारिएकोछ ।

नेपालगन्ज–कोहलपुर क्षेत्रको हवल्दारपुर, पिपरि क्षेत्रका करिब २५ वटा पोल ढलेको उनले बताए । ‘भाँचिएका ती पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ’ ई. लामिछानेले भने ।

bidhut_line_dhaleko_pipari-1718870213.jpg
नेपालगन्ज–कोहलपुर सडकखण्डको पिपरीको पश्चिमपट्टी हावाले लहरै ढालेर सडकमा छरपस्ट विद्युतको पोल । तस्विर: विजय मल्ल/सेतोखरी

पोलमा तारको लोडले तान्दा एक पोल ढल्दा क्रमशः अन्य पोलहरू पनि ढल्ने गरेको उनले बताए । ‘सिमेन्टेड पोलहरू बाङ्गिने, लचकदार हुँदैनन्, एक पोल ढल्यो भने तारको लोडले नजिक रहेका अन्य पोलहरू पनि क्रमशः तान्दै लैजान्छ अनि भाँचिने र ढल्न पुग्छ ।’ उनले भने ।

यसैगरी जिल्लाको डुडुवा, राप्तीसोनारी, नरैनापुरलगायतका स्थानमा विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथले जानकारी दिए ।

लामिछानेले राप्तीसोनारीको जंगलमा रुख ढलेको र त्यसलाई हटाउन केही समय लाग्ने भएकाले विद्युत् आपूर्ति सहज गराउन समय लाग्ने बताए । उनका अनुसार कोहलपुरमा २५, डुडुवामा ९, खजुरामा ८ र राप्तीसोनारीमा ५ गरी ४७ बढी विद्युतीय पोल ढलेको अवस्थामा छन् । ‘अझै कहाँ–कहाँ कति ढलेका छन्, विस्तृत विवरण आएको छैन’, उनले भने ।

यता हावाहुरीका कारण गएराति देखि नेपालगन्जका केही स्थानहरूमा बत्ती नहुँदा खानेपानीको समेत समस्या देखिएको छ । बत्ती नभएका स्थानमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने खानेपानी नआउँदा स्थानीय समस्यामा परेका हुन् । 

bidhut_line_pol_jadan_garidai-1718870305.jpg
नेपालगन्ज–कोहलपुर सडकखण्डको पिपरीको पश्चिमपट्टी हावाले ढालेको विद्युतको पोल मर्मत गर्दै विद्युत कर्मचारी । तस्विर: विजय मल्ल/सेतोखरी

यसैगरी फुल्टेक्रा फिडरबाट प्रसारित विद्युतमा भोल्टेज स्टेबल नहुँदा सो क्षेत्रका एक कुटानीपिसानी मिलसहित ५ घरका विद्युतीय सामाग्री जलेर नष्ट भएकोछ । विद्युतका भोल्टेज लगातार घट्ने बढ्ने चरण चलिरहँदा चिम(बल्ब), सिलिङ फ्यान, बुफर, पानी तान्ने मोटर लगायतका विद्युतीय सामाग्री जलेर नष्ट भएको हो । केही समय अघि पनि हावाहुरीका कारण यहाँका करिब दुई सय पोलहरू ढल्दा क्षति भई विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।